काठमाडौं : बैठकमा नआउनेलाई कारवाही गर्ने भन्दै चेतावनीका बाबजुद माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठक बहिस्कार गरेका छन्।
बिहान ११ बजेका लागि डाकिएको बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। दुई घन्टा ढिलोगरी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो। समानान्तर भेला गरिरहेका माधवकुमार नेपाल पक्षधर सांसदहरु आउने सम्भावना रहेकाले बैठक सुरु हुन लम्बिएको थियो।
तर, बैठकका लागि बालुवाटारतिर लागेका केही सांसद बिचबाटै फर्केपछि नेपाल पक्षधर सांसद बालुवाटार पुगेनन्। आज बैठकमा उपस्थित नहुनेलाई प्रधानमन्त्री ओलीले कारवाही गर्ने जनाएका छन्। त्यसैले धेरैलाई आजको बैठकबाट हुनसक्ने निर्णयको चासो छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले डाकेको कार्यकर्ता भेलाकै समय जुधाएर संसदीय दलको बैठक डाकेका थिए। बालुवाटारमा डाकिएको बैठकमा नेकपा एमालेको नेपाल समूहका सांसद जाने र नजाने हल्लाका बिच अन्तत: कोही पनि पुगेनन्।
'उहाँहरु नआए पनि बैठक अब सुरु हुन्छ,' केही अघिमात्रै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भनेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको नेकपा एमालेभित्रको विवाद यतिखेर चरम अवस्थामा पुगेको छ। विघटनाले नेकपा माओवादी केन्द्र पनि चोइटिएको छ भने एमाले विभाजनको अवस्थामा पुगेको छ।
फागुन २८ गते पार्टी अध्यक्ष ओलीले आफ्नो गुटका केन्द्रीय सदस्यको बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए। साथै नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।
उक्त घटनापछि चिढिएको एमालेको नेपाल समूहले अलग्गै भेला डाकेको हो। उनीहरुले २८ गतेको बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने बताउँदै छन्। त्यसलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेका छन्।
