PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

विधान संशोधनका लागि एमालेले बनायो कार्यदल



प्रकाश भण्डारी

विधान संशोधनका लागि एमालेले बनायो कार्यदल

काठमाडौं : नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। साथै, बैठकमा अनुपस्थित सांसदलाई कारवाहीका विषयमा पछि छलफल गरिने भएको छ। कार्यदल गठन गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

संसदीय दलको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संसदीय दलको बैठकमा अनुपस्थित हुनेलाई कारवाहीको चेतावनी दिएका थिए। चेतावनीका बाबजुद माधवकुमार नेपाल समूहका सांसदहरु आज अनुपस्थित भए। उनीहरुको अनुपस्थितिमा दुई घन्टा ढिलो गरी सुरु भएको बैठकले कारवाहीका लागि बोर्ड गठन गरेको हो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले डाकेको कार्यकर्ता भेलाकै समय जुधाएर संसदीय दलको बैठक डाकेका थिए। बालुवाटारमा डाकिएको बैठकमा नेकपा एमालेको नेपाल समूहका सांसद जाने र नजाने हल्लाका बिच अन्तत: कोही पनि पुगेनन्।
बैठकका लागि हिँडेका सांसदहरु पनि बिचबाटै फर्किएका थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको नेकपा एमालेभित्रको विवाद यतिखेर चरम अवस्थामा पुगेको छ। विघटनाले नेकपा माओवादी केन्द्र पनि चोइटिएको छ भने एमाले विभाजनको अवस्थामा पुगेको छ।

फागुन २८ गते पार्टी अध्यक्ष ओलीले आफ्नो गुटका केन्द्रीय सदस्यको बैठक डाकेर अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गरेका थिए। साथै नेकपा माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।

उक्त घटनापछि चिढिएको एमालेको नेपाल समूहले अलग्गै भेला डाकेको हो। उनीहरुले २८ गतेको बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने बताउँदै छन्। त्यसलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell