काठमाडौं : नेकपा एमालेले संसदीय दलको बोर्ड गठन गरेको छ। अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको हो।
संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरीक्षवेण गर्न र सांसदलाई क्रियाशील बनाउन बोर्डको गठन गरिएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
रोचक त के छ भने बैठकमा सहभागी नभएका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललाई राखेर बोर्ड गठन गरिएको छ। झलनाथ-माधव समूहले यो बैठक बहिष्कार गरेको थियो।
बोर्डमा झलनाथ र माधवका अलावा सुमन प्याकुरेल, राधा ज्ञवाली, विमला राई, विद्या भट्टराई, मोहन बानियाँ, दामोदर भण्डारी, विन्दा पाण्डे, रेखा झा, सरिता न्यौपाने, शेरबहादुर तामाङ, खेम लोहनी, रघुवीर महासेठ, राजेन्द्र राई, नारदमुनि रानासहित २૪ जना रहेका छन्।
बोर्डमा अध्यक्ष ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहेका छन्।
त्यसैगरी, संसदीय दलको बैठकले प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा विधान संशोधन कार्यदल समेत गठन गरेको छ। विधान संशोधनको प्रस्ताव कार्यदलले अर्को बैठकमा लानेछ। ७ गते अर्को बैठक बोलाइएको छ।
नेता तामाङले संसदीय दलको बैठकमा अनुपस्थितका बारे पछि छलफल हुने बताए। बैठकमा १२१ जना सांसद सहभागी भएको तामाङले दावी गरे।
