PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई वर्षदेखि रोकिएको विराट गोल्डकप 'फर्ड लाइट'को उज्यालोमा राति सञ्चालन हुँदै, १० टिम सहभागी



अनन्तराज न्यौपाने

दुई वर्षदेखि रोकिएको विराट गोल्डकप 'फर्ड लाइट'को उज्यालोमा राति सञ्चालन हुँदै, १० टिम सहभागी

विराटनगर: विराटनगरमा दुई वर्षदेखि स्थगित गरिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २६ गतेदेखि हुने भएको छ।

यसअघि २०७४ सालमा गरिएको प्रतियोगिता २ वर्ष हुन सकेन। २०७५ मा आन्तरिक कारणले र २०७६ मा कोरोना महामारी तथा स्थानीय शहीद रङ्गशालामा फोर्ड लाइटको जडानका कारणले प्रतियोगिता स्थगित गरिएको थियो।

विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा बिहिबार सम्पन्न पत्रकार सम्मेलनमा आगामी चैत २६ देखि २०७८ वैशाख ४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिइएको हो।

ट्रस्टका संयोजक मनोजविक्रम शाहले प्रतियोगितामा नेपाल, भारत र क्यामरून गरी ३ मुलुकका फुटबल टिम सहभागी हुने बताए।

संयोजक शाहले आसन्न प्रतियोगिताका मुख्य आकर्षक टिममा भारत–पन्जाब पुलिस, झारखण्ड टाटा एकेडमी, र क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन टिम रहेको जानकारी दिए।

शाहका अनुसार ३ वटै मुख्य टिम विराट गोल्डकपमा पहिलो पटक सहभागी हुँदैछन्।

‘यस पटकको गोल्डकपको अर्को मुख्य र नयाँ आकर्षण फर्ड लाइट हुनेछ’, उनले भने, ‘विराटनगर महानगरपालिकाले ४ करोड ३० लाखका लागतमा शहीद रङ्गशालामा फर्ड लाइट जडान गरिसकेको छ। अब हामी राति ७ बजेदेखि प्रतियोगिता सञ्चालन गर्न सक्ने भएका छौँ।’

यस पटकको गोल्डकपको मुख्य प्रायोजकमा एसियन थाई फुड्सको रमपम चाउचाउ र मारुती सिमेन्ट छन्। त्यस्तै प्रदेश नम्बर १ को सरकार र सामाजिक विकास मन्त्रालय तथा विराटनगर महानगरपालिकाले पनि आर्थिक रूपमा सहयोग गरेका छन्।

यस वर्षको प्रतियोगितामा उपाधि जित्ने टिमलाई १५ लाख १५ हजार र उपविजेतालाई ७ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप र सिल्ड प्रदान गरिने छ। पराजित भएर जाने पाहुना टिमलाई नेपालको टिम भए नेरु २० हजार र विदेशी भए भारु २० हजार दिइने शाहले उल्लेख गरे।

उनले म्यान अफ द म्याच हुने खेलाडीलाई प्रत्येक प्रतियोगितामा १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटर साइकलसहित पदक प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ।

प्रतियोगितामा १ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

यही चैत २६ गतेदेखि विराट गोल्डकपको छैठौँ संस्कारण हुन लागेको हो। विराटनगरमा २०१८ सालदेखि विराट गोल्डकपका नामबाट अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता सञ्चालन गरिँदै आएको थियो। मुलकमा गणतन्त्र स्थापना भएपछि २०६४ सालदेखि यसको नाम परिवर्तन गरेर विराट गोल्डकप राखियो। विराट गोल्ड कपका नामबाट पहिलो प्रतियोगिता २०६४ सालमा गराइएको थियो।

यसअघि २०७४ को प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी विजेता र उपविजेता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell