PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भोलिको संसद बैठकको सम्भावित कार्यसूचीमा अटेन अध्यादेश, प्रतिवेदन पेश गर्न प्रधानमन्त्री उपस्थित होलान?



पहिलोपोस्ट

भोलिको संसद बैठकको सम्भावित कार्यसूचीमा अटेन अध्यादेश, प्रतिवेदन पेश गर्न प्रधानमन्त्री उपस्थित होलान?

काठमाडौं: संघीय संसद सचिवालयले शुक्रवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। कार्यसूचीमा सरकारले ल्याउन पेश गर्न खोजेका ७ वटा अध्यादेशहरु भने राखिएको छैन।

कार्यसूचीअनुसार भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुइटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन्। लोक सेवा आयोगको ६१औ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ।

फागुन २३ देखि सुरु भएको हिउँदे अधिवेशनमा भोलिको बैठक चौथो हो। तीन वटा बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका छैनन। बैठक सुरु अघि नै उनी दुई पटक पुगेर बाहिरिएका थिए भने पछिल्लो बैठक सकिएपछि संसद भवन पुगेका थिए।

भोलिको बैठकमा ओली आफैं उपस्थित हुन्छन् कि प्रतिनिधिका रुपमा मन्त्रीलाई पेश गर्न लगाउँछन् टुंगो लागिसकेको छैन। प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, 'वार्षिक प्रतिवेदन गर्न प्रधानमन्त्री संसद जाने कुरै हुँदैन। उहाँको तर्फबाट मन्त्रीले गर्छन्। प्रधानमन्त्री सम्बोधन गर्न मात्रै संसद जानेछन्। सम्भावित कार्यसूचीमा त्यो नभएकाले भोलि जाने अवस्था छैन।' 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने भोलिको कुरा भोलि नै थाहा हुने बताउँछन्। उनका अनुसार संसद जाने टुंगो लागेको छैन।

त्यसैगरी सम्भावित कार्यसूचीमा सभामुखले सांसद अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने तय भएको छ।

त्यसैगरी पूर्वराष्ट्रियसभा सदस्य तथा संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

सम्भावित कार्यसूचीमा विवादित बनेका अध्यादेशहरू भने राखिएको छैन। अध्यादेश प्रस्तुत गर्ने विषयमा सहमति जुट्न नसक्दा दलीय आधारमा हुने सम्बोधन पनि प्रभावित हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell