PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीको कदमविरुद्ध माधव नेपाल समूहको भेलाले पारित गर्‍‍यो १७ बुँदे प्रस्ताव



पहिलोपोस्ट

ओलीको कदमविरुद्ध माधव नेपाल समूहको भेलाले पारित गर्‍‍यो १७ बुँदे प्रस्ताव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहले १७ बुँदे प्रस्ताव पारित गर्दै राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ।
भेलाले फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटका सीमिति व्यक्ति बोलाएर सरकारी निवासमा गरेको निर्णयको विरोध गरेको छ। पदाधिकारीको जिम्मेवारी हेरफेर र नेकपा एमालेको सदस्यता समेत नलिएका व्यक्तिलाई केन्द्रीय सदस्य बनाएको भन्दै कडा आलोचना गरेको छ।

'पार्टी विधान, पद्धति र नेकपा एमालेको सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई यो भेला पूर्णत: अस्वीकार गर्दछ,' निर्णयमा भनिएको छ।

साथै ओलीले गरेका निर्णय खारेज गर्दै पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको छ। 'बैठक बोलाइ विधि र पद्धति सम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ,' भनिएको छ।

नेपाल कम्युनिस्ट पार्टी खारेज गरिनुलाई भेलाले संविधान प्रदत्त राजनीतिक दलको एकीकृत हुन पाउने अधिकारमाथि प्रहार भएको टिप्पणी पनि भेलाले गरेको छ। त्यसता आदेशले मुलुकमा दीर्घकालीन कुप्रभाव पर्ने भनिएको छ। भेलाले कम्युनिस्ट आन्दोलनलाई षड्यन्त्रपूर्वक छिन्न भिन्न पार्ने काम भएको भन्दै भेलाले 'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीबाट हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनै पनि काम कारवाहीका विरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा एमालेका सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आह्वान' गरेको छ।

साथै ओलीले भेला नगर्न दिएको निर्देशनलाई अस्वीकार गरेर सहभागी भएकाहरुलाई धन्यवाद दिएको छ। 'केपी शर्मा ओली पक्षबाट सार्वजनिक रुपमा दिइएको धम्की तथा यो राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुन दिइएको कथित निर्देशनलाई अस्वीकार गर्दै हजारौहजार पार्टी सदस्यहरुको अथक परिश्रमबाट निर्माण भएको नेकपा एमालेलाई गुट र सत्तास्वार्थमा दुरुपयोग नगर्न यो भेला सबैलाई सचेत गर्न चाहन्छ,' भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell