PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना



निशा गुरुङ

मकवानपुरकै दुर्गम स्थानमा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ८ भार्तामा सुविधासम्पन्न प्रसुति केन्द्रको स्थापना गरिएको छ। सैनिक श्रीमती संघको पहलमा निर्माण भएको ७ कोठे सुविधासम्पन्न प्रसुति केन्द्रको बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे।

प्रसुति केन्द्रको उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालन र सेवा प्रवाहका लागि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। सो अवसरमा प्रधानसेनापति थापाले नेपाली सेना विपन्न र गरिब समुदायको दुःखमा साथ दिन तयार रहेको बताए। विकट भेगका महिलाहरूको सुरक्षित प्रजननका लागि प्रसुति केन्द्र महत्वपूर्ण रहने उनको भनाइ छ।

सैनिक श्रीमती संघकी अध्यक्ष दिपा थापाले सिमान्तकृत समुदायको बसोबास रहेको सो क्षेत्रमा व्यवस्थित प्रसुति सेवा अभाव रहेको देखिएपछि प्रसुति केन्द्र निर्माण गरिएको बताइन्। सुरक्षित प्रसुति, सुन्दर सृष्टि भन्ने नाराका साथ निर्माण गरिएको प्रसुति केन्द्रलाई कोपिला नामाकरण गरिएको उनले बताइन्।

कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानले कसैले पनि असुरक्षित प्रसुतिका कारण ज्यान गुमाउन नपर्ने बताए। उनले प्रसुति केन्द्रमा दक्ष जनशक्ति खटाइने र थप आवश्यक सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने जानकारी दिए।

सैनिक श्रीमती संघको अगुवाईमा ५९ लाख ५१ हजार ५ सय १६ रुपैयाँमा प्रसुति केन्द्र निर्माण गरिएको हो। स्थानीय राजु प्रजाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी नेपाली सेनाको सहयोगमा निर्माण गरिएको थियो। गत पुस ९ गते शिलान्यास गरिएको सो प्रसुति केन्द्र निर्माणको सम्पूर्ण काम ८५ दिनमा सम्पन्न भएको निर्माणमा खटिएका पूरानो गोरख गणका मेजर दिपेन्द्र सिंहले जानकारी दिए। सिहंको नेतृत्वमा नेपाली सेनाको टोली समेत प्रसुति गृह निर्माणमा खटेको थियो। प्रसुति केन्द्र निर्माणमा मध्य पृतना हेडक्वाटर नम्बर ७ बाहिनी अड्डा र मकवानपुरमा तैनाथ पुरानो गोरख गणले सहयोग गरेका थिए।

सोही अवसरमा नेपाली सेनाले कैलाश गाउँपालिका वडा नम्बर ८ का विपन्न परिवारलाई न्यानो ब्ल्यान्केट वितरण गरेको छ। वडाका ४८० घरपरिवारलाई ब्ल्यान्केट हस्तान्तरण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell