PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशको ४१ करोड अनुदानमा हेटौँडामा दुग्ध पाउडर उत्पादन प्लान्ट निर्माण शुरु



निशा गुरुङ

वाग्मती प्रदेशको ४१ करोड अनुदानमा हेटौँडामा दुग्ध पाउडर उत्पादन प्लान्ट निर्माण शुरु

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट भवन निर्माण शुरु गरिएको छ।

भवन निर्माण क्षेत्रको मुख्यमन्त्री डोरमणि पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया र दुग्ध बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटालगायतले बिहीवार स्थलगत निरीक्षण गरेका छन्।

प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका-१०, न्युरेनीमा पाउडर प्लान्ट र सोका लागि भवन निर्माण थालिएको हो। प्लान्टले वाग्मती प्रदेशसँगै चार प्रदेशका किसानले उत्पादन गरेको दुध पाउडर बनाउन सहज हुनेछ। उद्योग स्थापना भएर रोजगारी सिर्जना गरिएसँगै किसानले धेरै संख्यामा गाईभैँसीपालन गरेर रोजगारी पनि सिर्जना हुने बताइएको छ।

डेढ बिघा जग्गामा बन्न लागेको पाउडर दुग्ध उद्योगको पहिलो चरणको कम्पाउण्ड पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको दुग्ध बोर्डका उपाध्यक्ष टिकाबल्लब सापकोटाले जानकारी दिए। उनले पर्खाल लगाउने काम सकिएपछि भवन, फयाक्ट्रीको काम शुरु हुने बताए। पाउडर दुधसँगै घिउ उत्पादन पनि हुने उनले जानकारी दिए।

पाउडर दुग्ध उद्योग आर्थिक वर्ष २०७७/७८ सम्म पूर्ण रुपमा निर्माण सम्पन्न गराउने जनाएको छ। उनले निर्माण सम्पन्न भएपश्चात प्रदेश दुग्ध विकास बोर्डले कारखानाको निरीक्षण गरी कर्मचारीहरु नियुत्ति गर्ने बताएका छन्।

मन्त्रालयका अनुसार धुलो दुध उत्पादन गर्ने कार्य प्रारम्भ भएपछि करिब ८० जनाले रोजगारी पाउनेछन्। उत्पादित धुलो दुध प्याकिङ दैनिक ५ मेट्रिकटन सात वटै प्रदेशका स्थानीय बजार, होटेल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट वितरण गर्ने कार्यतालिकासहित यातायातको सुविधा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell