काठमाडौँः न्याय सेवा आयोगले दुई सहसचिवलाई सचिव वा सो सरहको पदमा बढुवाका लागि सिफारिस गरेको छ। बिहीबारको बैठकले न्याय, कानुन समूहका सहसचिव तोयानाथ अधिकारीलाई सचिव बढुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ। अधिकारलाई बढुवासँगै सत्य निरुपण तथा मेलमिलाप आयोगमा सचिवमा पदस्थापनको पनि सिफारिस गरेको हो।
यस्तै, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई नायब महान्यायाधिवक्तामा सिफारिस गरेको छ। नायब महान्यायाधिवक्ता राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव सरह) को पद हो। नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि एक पद रिक्त भएको थियो।
आयोग सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेपछि बढुवा हुनेछ।
यस्तै, आयोगको बैठकले कानुन न्याय तथा संसदीय मामिलाको रिक्त सचिव पदमा उदयराज सापकोटालाई सरुवाको सिफारिस गरेको छ। सरुवाको निर्णय पनि मन्त्रिपरिषदबाट हुनेछ। सापकोटा हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा सचिव छन्। मन्त्रालयका सचिव ऋषि राजभण्डारी उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि मन्त्रालयमा सचिवको स्थान रिक्त थियो।
आयोग बैठकले न्याय, कानुन, तथा सरकारी वकिल समूहका ९ जनाको सरुवा गरेको छ।
