काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को ग्राण्ड प्रिमियर भएको छ। काठमाडौंको छाया सेन्टरमा सिजन २ को पहिलो भाग देखाएर प्रिमियर गरिएको हो।
प्रिमियरमा उत्कृष्ट २४ मा परेका प्रतियोगी चिनाइयो। निर्णायक मनोज गजुरेल र हाँस्यकलाकार सुवोध गौतमको प्रस्तुतिबाट शुरु गरिएको पहिलो भागमा टप २४ मा परेका ४ प्रतियोगीको प्रस्तुती देख्न सकिन्छ।
प्रतियोगिताको सुरुवातमा सिक्किमका विक्की अग्रवालले प्रस्तुति दिए। कैलाश कार्की, सन्तोष थापा र सुन्दर खनालले पनि पहिलो भागमा नै आफ्नो प्रस्तुति दिएका छन्। यी चारै प्रतियोगीको प्रस्तुतिलाई निर्णायकले राम्रो प्रतिकृया दिए।
निर्णायकले रुचाएका यी चार प्रस्तुतिलाई प्रिमियरमा उपस्थित व्यक्तिहरुले पनि निकै रुचाए। प्रस्तुति हेर्दा हलमा हाँसोको गुज्यमान भएको थियो। शो सकिएपछि बाहिरिएका व्यक्तिहरुले पनि निकै राम्रो प्रतिकृया दिएका थिए।
‘कमेडी च्याम्पियन सिजन २’ को प्रशारण २१ फागुनबाट नै शुरु भएको थियो। तर, फिजिकल अडिसनबाट उत्कृष्ट २४ छानेपछि मात्रै ग्राण्ड प्रिमियर गरिएको हो। यस वर्ष कमेडी च्याम्पियनमा सहभागी हुन ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो। जसबाट १ सय २० जनालाई फिजिकल अडिसनका लागि बोलाइएको थियो।
शोमा यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्। विशाल भण्डारीले निर्देशन गरेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन्। कमेडी च्याम्पियन हरेक शुक्रवार र शनिवार कान्तिपुर टिभीमा प्रशारण हुन्छ।