PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रुप फेर्दै गोपीकृष्ण हल, कायमै रहला पुरानो प्रभाव?

रुप फेर्दै गोपीकृष्ण हल, कायमै रहला पुरानो प्रभाव?

लक्ष्मी बलायर/पहिलोपोस्ट


गोपीकृष्ण हल भत्किएको दृश्यले अभिनेत्री रेखा थापाको मन खिन्न बनायो। उनका धेरै फिल्मले गोपीकृष्ण हलमा ५१ दिन मनाएका छन्। रेखा गोपीकृष्ण हल पुग्दा दर्शकहरु झुम्मिन्थे। ६ वर्षअघि फिल्म काली रिलिज हुँदा महिला दर्शकले उचालेका थिए उनलाई।

‘सर्वसाधरणको हल थियो गोपीकृष्ण। सबैको पहुँच भएको,’ रेखा सुनाउँछिन्, ’भावनात्मक नाता जोडिएको हल भत्किँदा एकछिन त लाग्यो – अब त के फिल्म बनाउनु।‘

हुन पनि रेखाका धेरै फिल्म हिट कि फ्लप? को मानक थियो गोपीकृष्णको टिकट सेल्स। नयाँ संरचना बन्दा तिनै दर्शक आउँछन् कि आउँदैनन् होला? भन्ने अन्यौलता रहेछ उनमा। त्यसैले हिजोआज चाबहिलबाट ओरालो लागेपछि एकाएक गम्भीर हुन्छिन् उनी।

+++

निरन्तर आइरहेको टक् टक् आवाज। यत्रतत्र कन्क्रिटको धुलो। यता उता गरिरहेको डोजर। धुलोले धपक्क ढाकेको सिसामा धुमिल देखिन्थ्यो अक्षर - टिकट काउन्टर। गोपीकृष्ण हलमा फिल्म हेर्न धाउनेहरूले भिड छिचोल्दै त्यो काउन्टरसम्म पुगेको पक्कै सम्झन्छन्।

माहोल नै अर्कै हुन्थ्यो। थामिनसक्नु भिड अनि बाटोसम्मै पुगेको लाम। सेलेब्रेटी आउँदा दर्शकले गर्ने हुटिङ। वर्षौ दर्शक थामेको भवन भत्कदै गर्दा यी दृश्य झल्झल्ती सम्झन्छन् निरक पौडेल।

निरक उमेरले १४ वर्षको हुँदा हो गोपीकृष्ण खुलेको। स्कूल छुट्टी हुने बित्तिकै बुबा उद्धव पौडेलको पछि लागेर त्यहाँ पुग्थे उनी। हल खुल्नुअघि नै करिव १८ वटा फिल्ममा काम गरेका उनको पर्दासँग विशेष लगाव थियो। आफ्नो अभिनय रहेको फिल्म 'आमा' गोपीकृष्ण ‌उद्घाटनमा देखाइँदा दङ्ग परेको अझै सम्झन्छन् उनी।

हलसँग बाल्यकालको याद, हुर्कँदै गर्दाको बुझाइ र केहीपछि व्यवसायिक जीवन जोडिएको छ उनको। स्कूलभन्दा बढी महत्वपूर्ण लाग्थ्यो उनलाई। दिनमा ३/४ वटा सोसम्म हेर्न भ्याउथे। 'कहिले काही सुटिङ पर्न सक्थ्यो। तर म सकेसम्म शनिवार नपार्न आग्रह गर्थें। फिल्म हेर्ने लोभले,’ उनले पुरानो दिन सम्झिए।  

भित्ताका ठूला पोस्टर खुब सम्झिइरहेका छन् उनी। थन्काइएका कुर्सीहरू फेरि कहिले काम लाग्ला? सोचमग्न। उजाड देखिन्छ गोपीकृष्ण।

२५ वर्षअघि बनेको गोपीकृष्णको नयाँ स्वरुप कस्तो देखिएला? जान्न सबैभन्दा बढी उत्सुकहरूको सूचीमा अगाडि आउँछ निरकको नाम।

निरक पौडेल


बुबाको बिडो थाम्दै निरक

निरक गोपीकृष्ण हल सबैभन्दा ठूलो विद्यालय, कलेज र युनिभर्सिटी मान्छन्। फिल्ममा रुचि बढ्न थालेपछि सिनेमा पढ्न लण्डन गए। निर्देशनमा डिप्लोमा गर्न। त्यसपछि मुम्बईमा डेढ वर्ष बसे। अनुभव सिंहाजस्ता निर्देशकसँग कामको अनुभव संगाले।

नेपाल फर्किएर बनाए ‘कुसुमे रुमाल २।’ त्यतिखेर उनी २१ वर्षका थिए। अन्तराष्ट्रिय मिडियाले एसियाकै कान्छो निर्देशकको ट्याग दिएको दाबी गर्छन् उनी।

बुवाले कहिले पनि यस्तो बन्, उस्तो बन् भनेर दबाब नदिएका कारण फिल्म क्षेत्रमा आफूलाई सहज भएको बताउँछन् निरक। भन्छन्, 'करियर बनाउने कुरामा बुवाले स्वतन्त्र छोड्नुभएको थियो। आफ्नै इच्छाले बुवाको सक्रिय क्षेत्रमा हात सारें।‘

सन् २००८ देखि हो गोपीकृष्ण हलको जिम्मेवारी निरकको काँधमा परेको। ‘सानै उमेरदेखि भावनात्मक, व्यवसायिक रुपमा जोडिएको ठाउँ भत्काउँदा मन चिसो भयो। नरमाइलो लाग्यो। तर राम्रोको लागि भत्किएको हो भनेर चित्त बुझाएको छु,’ उनले भने।

दिपक श्रेष्ठ र शिव रेग्मीको सिनेमाले ५१ औँ दिन मनाउने गरेको सम्झन्छन् निरक। निर्देशक अनुसार कुन फिल्मले कित दिन मनाउँछ सजिलै आँकलन गर्न सकिने समय थियो त्यो।

गोपीकृष्णको प्रभाव यति थियो कि कुन फिल्म हिट, कुन सिनेमा फ्लप भन्नु गोपीकृष्णको कलेक्सनले निर्धारण गर्थ्यो। शुक्रबार प्रदर्शनरत् फिल्मका निर्माता, निर्देशक र कलाकारहरू गोपीकृष्ण पुगेकै हुन्थे। कलाकार गएर दर्शकसँग हात मिलाएको तस्विर जति पनि मिडियामा छाउँछन् ती सबै आफ्नै हलको भएको दावी गर्छन् निरक।

+++

२०५३ मा गोपी र कृष्ण नाममा दुई फरक हल सञ्चालनमा ल्याइयो। दुबै हलको दर्शक क्षमता १८ सय बढी। पछि राधा, मीरा, ॐ, नम: र शिवाय गरी पाँचवटा हल थपिए।

'बाहुबली २' रिलिज हुँदा ७ वटा हल हाउसफुल भए। ८ हजार मानिस टिकट नपाएकै कारण फर्किएको सम्झन्छन् निरक। नचलेको भनिएको दिन पनि ६० प्रतिशतसम्म दर्शक अकुपेन्सी हुने गरेको बताउँछ्न्।

'राजा हिन्दुस्तानी' रिलिज हुँदा १ महिनासम्म सबै हल हाउसफुल भएको पनि सम्झन्छन् उनी।

हरेक दिन बिहान ११ बजे भिड थाम्नै मुस्किल पर्थ्यो। गोपीकृष्ण बाहिर सवारी जाममा पर्थ्यो।

अहिले तिनै दर्शकमध्य कोही हल भत्किरहेको देख्दा ‘ट्वा’ पर्छन्। गेटछेउमै आएर सोध्छन् – के भयो?

‘विनाश नभइ विकास’ हुन लागेको जवाफ लिएर फर्कन्छन्।

डिजिटल युग आएपनि फिल्म हलको क्रेज नघटेको निरकको तर्क छ। भन्छन्, 'परिवारलाई लिएर सिनेमा हल जाने, फिल्म हेर्ने अनि पपकर्न खाने ट्रेन्ड हराएको छैन। अलि कम भयो होला तर परिवारसँग समय बिताउने वा ठूलो साउण्डमा फिल्म हेर्ने संस्कृति भने हराउँदैन।'

अब के बन्दैछ?

अब गोपीकृष्ण मुभिज ‘गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स’ (जीकेसीसी) बन्दै छ। यो जिकेसीसीमा ७ तलासम्म सपिङ मल बन्ने छ। ७ तला माथि भने पाँचतारे होटल बनाउने योजना रहेको परियोजनाका प्रबन्ध निर्देशक निरकले जानकारी दिए।

पहिले साढे छ रोपनीमा भए पनि अब १० रोपनीमा प्रोजेक्ट तयार हुन लागेको हो। 'आधुनिक सुविधा सम्पन्न सिनेमा हल हुन्छ र मलभित्र दिन कट्ने इन्टरटेनमेन्ट हब बन्छ,' उनले भने।

अहिले परियोजनाको डिजाइनको काम भइरहेको छ। २५ तलाको भवन निर्माण गर्ने उद्देश्य भए पनि विमानस्थलको नजिक भएकाले बनाउन अनुमति मिलेन। जसकारण भवन २ तला अन्डरगाउण्डसहित २० तलाको निर्माण हुने छ।

चार हलहरु भत्काइए पनि आठ वर्षअघि थपिएका ॐ, नम: र शिवाय हललाई मर्मत–सम्भार गरिँदै छ। ति तीनै ‌ हल सञ्चालनमा आउने छन्।

हलको नाम आरजीबी रहनेछ। ‘आरजीबी अर्थात् रातो, हरियो र नीलो। रातो हलभित्र रातै कुर्सी, कार्पेट र सिलिङ हुन्छ। कम्प्लेक्स बन्दै गर्दा पनि दर्शकले यी तीन हलमा फिल्म हेर्न पाउनुहुनेछ।’

सिनेमा हेर्न बानी नहटोस् भनेर पनि हल १ महिनापछि हल खुलाउन लागेको निरकले बताए। प्रत्येक घन्टा सिनेमा रिलिज गराइने छ। हलहरुको कुल क्षमता करिब ६ सय जना हुनेछ। टिकटको मुल्य सर्वसाधारणको पहुँच पुग्ने गरी सुलभ नै हुने छ।

४ अर्बको लगानीमा भवन निर्माण हुने छ। परियोजकाको समयावधि भने ३० महिनाको रहने छ। बुवाको पहिचानलाई सुरक्षित राख्ने उद्देश्य निरन्तर रहने छ।

संसारभरी चलेको नयाँ टेन्ड्र फलो गर्दै गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माण गर्न लागेको बताउँछन् निरक।

पुरानो इथिक्स् कायमै राखिने

पुरानै गोपीकृष्ण हलको इथिक्सलाई नभुलेर आधुनिक स्वरुपमा तयार गर्न खोजिएको पौडेलले बताए। बाल्यकालदेखि गोपीकृष्णका अनेक पक्षलाई देखेरै हुर्किएका निरकले समयसँगै त्यहाँ आउने सिनेप्रेमी ग्राहकसँगै हललाई पनि अपग्रेड गर्ने बेला भयो कि? भन्ने भावनाले नयाँ स्वरुपमा गोपीकृष्णलाई रुपान्तरित गर्न खोजिएको बताए। 'बुवाको पहिचानसँगै लिगेसीलाई संरक्षण गर्दै गोपीकृष्णलाई आधुनिकतामा प्रवेश गराउने प्रयास गरेका हौं,' पौडेलले भने।

अहिले पनि कुनै चलचित्र रिलिज भएको दिन गोपीकृष्णमा कस्तो रह्यो भन्ने तथ्यलाई हेरेर फिल्म हिट भयो कि फ्लप भयो भन्ने तय गरिने उनले बताए। यसै कारणले गर्दा गोपीकृष्ण नयाँ स्वरुपमा आउँदा पनि यही संस्कार दोहोरिने सम्भावना रहेको बताइन्छ। 

२५ वर्षअघि १७ रुपैयाँको टिकट काटेर फिल्म हेर्ने गरेका उपभोक्ताहरुले कोभिड-१९ अघि कै मूल्यमा नयाँ फिल्म हलमा चलचित्र हेर्न सक्ने पौडेलले बताए। लकडाउन अघि गोपीकृष्णमा बिहान र बेलुकाको सोको ७५ रुपैयाँ, विदा र कार्यालय खुल्ने दिनको सोको मूल्य दुई सयदेखि दुई सय ५० रुपैयाँकै भाउमै नयाँ हलमा हेर्न सकिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell