PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भेटिएका शव १० कक्षामा पढ्दै गरेका किशोरहरूको, नजिकै भेटियो विषादीको बट्टा

भेटिएका शव १० कक्षामा पढ्दै गरेका किशोरहरूको, नजिकै भेटियो विषादीको बट्टा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दक्षिणी काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका शवहरुको पहिचान भएको छ। मृत्यु हुनेमध्ये एक जना कक्षा दशमा पढ्दै गरेका १६ वर्षीय अर्जुन खड्का र १७ वर्षीय मंगल तामाङ रहेका छन्।

अर्जुन खड्का नुवाकोटका हुन् भने  मंगल तामाङ काभ्रेपलाञ्चोकका। 

बाङ्गेमुडामा बस्दै आएका उनीहरु हिजो खाना खाएर साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए।

घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेकाले आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ। 

'घटनास्थलमा विषको बट्टा भेटिएको छ। पोस्टमार्टम पछिमात्र यकिन के हो भन्न सकिन्छ,' महानगरीय प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले भने, 'मृत्यु हिजो भएको हो कि आज खुल्न सकेको छैन।'

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा दुई जनाको शव भेटिएको थियो। एक जनाको खोल्सामा र एक जनाको डिलमा शव भेटिएपछि प्रहरी अनुसन्धानका लागि जुटेको थियो। प्रहरीले घटनास्थल घेराबन्दी गरेर अनुसन्धान अगाडि बढाएको हो। अनुसन्धानका लागि दुई वटा कुकुर समेत परिचालन गरिएको छ।

अर्जुनको सनाखत गर्नका लागि उनका दाजु घटनास्थलमा पुगिसकेका छन्। तर तामाङको सनाखतका लागि कोही पनि पुगेको छैन। उनीहरुको शव दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका छुट्याउने बोसन खोला नजिकै भेटिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell