काठमाडौं : लामो समयको तनाबपछि अमेरिका र चीनबिच संवादको थालनी भएको छ। बाइडेन प्रशासन र चिनियाँ अधिकारीबिच पहिलो उच्चस्तरीय संवादको सुरुवातमा नै दुई देश एकअर्कालाई होच्याउने गरी प्रस्तुत भएका छन्। पहिलो उच्चस्तरीय वार्ताअघिको प्रि मिटिङ प्रेस ब्रिफिङमा दुई देशका प्रतिनिधिहरुले एक अर्का देशलाई होच्याउने गरी प्रस्तुती दिएको सीएनबीसीले जनाएको छ।
चार मिनेटको फोटो सुटका लागि पत्रकारहरुलाई निम्त्याएको निर्धारित समयमा दुई देशका प्रतिनिधिहरुले एक अर्काप्रति आलोचना गर्न थालेपछि कार्यक्रम करिब एक घण्टासम्म लम्बिएको समाचारमा उल्लेख छ। दुई वर्ष लामो तिक्ततापूर्ण सम्बन्धपछि अमेरिकाको अलस्कामा सुरु भएको वार्ता सकरात्मक सुरुवात भए पनि प्रस्तुतीले नकरात्मक सन्देश दिएको छ।
वार्तामा चीनका तर्फबाट स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय परराष्ट्र मामिला विभागका निर्देशक याङ जिइची सहभागी छन्। अमेरिकाका तर्फबाट सेक्रेटरी अफ स्टेट (विदेश मन्त्री) एन्टोनि व्लिकनले नेतृत्व गरिरहेका छन्।
बिहीवार सुरु भएको वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा प्रभुत्ववादी अभ्यास त्याग्नुपर्ने बताएका थिए।
त्यस्तै, चिनियाँ विदेश विभागका प्रमुख याङले अमेरिकासँग चिनियाँ पक्षसँग संवादको लागि हैसियत नभएको तर्क गरे। उनले अतिथिहरुसँग बोल्ने तमिज नभएको समेत आरोप लगाए।
'अमेरिकासँग चीनसँग संवाद गर्ने कुनै योग्यता छैन। अमेरिकी पक्ष २० वा तीन वर्ष अगाडि पनि संवादका लागि योग्य थिएन किनभने चिनियाँ जनतासँग सम्झौता गर्ने यो तरिका होइन। यदि अमेरिका चिनियाँ पक्षसँग उचित रुपमा सम्झौता गर्न चाहन्छ भने आवश्यक प्रोटोकलको पालना गरौँ र सही ढंगले अगाडि बढौं,' उनले भने।
ब्लिकनले चिनियाँ पक्षसँग सिनजियाङ, हङकङ ताइवान र अमेरिकामाथिको साइवर हमला, आफ्ना साझेदारहरुको आर्थिक चासोका बारेमा संवाद गर्ने बताएका थिए। उनले चीनका यस्ता गतिविधि विश्वव्यापी स्थायित्वका लागि चुनौती भएको बताएका थिए।
जवाफमा याङले शक्तिको हिसाबले चीनसँग जुध्न खोज्नेहरु आफैले कस्ट ब्यहोरेको इतिहास सम्झाएका थिए। उनले अमेरिकासँग अतिथि सत्कारको गुण नभएको समेत टिप्पणी गरेको चाइना डेलीले जनाएको छ।
एक अर्काबिचको तिक्तताबाट सुरु भएको सम्बाद अहिले अलस्कामा जारी रहेको छ। बिहीवारको प्रेस ब्रिफिङमा याङले आफ्नो राष्ट्रिय सुरक्षाको नाममा चीनमाथि आक्रमण गर्ने अमेरिकी योजना रहेको आरोप लगाएका थिए। दुई देशबिचको सम्बन्धलाई सकरात्मक दिशामा लैजान भन्दै सुरुवात गरिएको 'आइस ब्रेक'मा नै दुवै देशले कुटनीतिक मर्यादा भन्दा बाहिर गएको बीबीसीले टिप्पणी गरेको छ।
यो असान्दर्भिक अकुटनीतिक बक्सिङ प्रशिक्षणका क्रममा हुने अभ्यास खेल जस्तो थियो। बाइडेनको समूहले पहिले नै सार्वजनिक रुपमा बेइजिङको आलोचना गरिरहेको सन्दर्भमा चिनियाँ पक्ष पनि प्रतिकारको तयारीका साथ उपस्थित भएको समाचारमा उल्लेख छ। उनीहरु संवादको एक दिन अगाडि वासिङटनले चीनमाथि हङकङ मामिलामा प्रतिबन्धको घोषणा गरेपछि रुष्ट देखिन्थे।
