PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रसियनसँग मिलेर गोरखधन्दा : किलोको ९ सय पर्ने कफीमा औषधी मिसाएर 'ग्रीन कफी' भन्दै ४० हजारसम्म बिक्री!



पहिलोपोस्ट

रसियनसँग मिलेर गोरखधन्दा : किलोको ९ सय पर्ने कफीमा औषधी मिसाएर 'ग्रीन कफी' भन्दै ४० हजारसम्म बिक्री!

'ठूलो पेट एक हप्तामै गायब'

'मोटो पेट सात दिनपछि गायब'

यस्तै लेखिएका विज्ञापन तपाईँको फेसबुक वालमा कति आएको छ? अनि कतिपय ठूलो पेट भएका मानिसले घटाउनका लागि यस्तो विज्ञापनको साहरा त लिनु भएको छैन? 

पछिल्लो समय मानिस पेट घटाउन दैनिक एक्सर्साइजदेखि खानपानमा समेत ध्यान दिन्छन्। तर, कसैले ग्रिन टी खाएको भरमा कुनै विना एक्सर्साइज, बिना डाइटिङ्, कुनै साइट इफेक्टबिना सात दिनमा तेह्र किलो तौल घटाउन सकिन्छ भन्यो भने के गर्नुहुन्छ?

केही मानिसले ग्रिन टी र बजारमा आएका विभिन्न प्रोडक्ट प्रयोग गर्ने गरेका छन्, यस्तै सूचनाकै भरमा।

यसरी प्रयोग हुने प्रोडक्ट कत्तिको स्वास्थ्यकर हुन् त?

एक पटक हेरेर वा बुझेर मात्र किन्नु होला। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले यसरी पेट घटाउने भन्दै उपभोक्तालाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना रसियन नागरिक समेत रहेका छन्। ब्युरोको टोलीले कास्की पोखरा महानगरपालिका स्थायी ठेगान भएर हाल खुसिबु बस्दै आएका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक इगोर कुटसलाई नियन्त्रणमा लिएको हो। ब्युरोले शुक्रवार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको छ।

उनीहरूले विभिन्न नामको फेसबुक एकाउन्ट खोलेर ग्रिन कफीले मोटोपन घटाउने भन्दै विज्ञापन गरेका थिए। तर, उनीहरूले प्रचार गरे अनुसारको काम नगरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको ब्युरोका प्रमुख डीआइजी सहकुल थापाले बताए।

'एक महिना लामो अनुसन्धानपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ। आफैँ नै ग्राहक बनेर पुगेका थियौँ। पछि उजुरी पनि आउने क्रम बढेकाले नियन्त्रणमा लिएका हौँ,' डीआइजी थापाले भने।

९ सय ६० को कफी ४० हजारसम्म बिक्री !

सन् २०२० मेमा रसियन नागरिक नेपाल आए। त्यसपछि उनले नेपालमा बिजनेस गर्न खोजेको र पार्टनर चाहिएको बताएका थिए। त्यही क्रममा उनको भेट अशिषसँग भएको थियो। आशिषले रसियन नागरिकको प्रस्तावलाई स्वीकार गरे। आफ्नै घरको फ्ल्याट भाडामा दिएर उद्योग खोले। ग्रिन कफी उत्पादन गर्ने भए उनीहरुले।

कम्पनी रजिष्ट्राको कार्यालयमा कम्पनी समेत दर्ता गराए। कानुनी सबै प्रक्रिया पूरा गरे। कम्पनीको लगानीदेखि योजना सबै रसियन नागरिकको थियो। तर, कानुनी रुपमा कम्पनी आशिषको नाममा खडा भयो। कम्पनीको नाम रह्यो टीम वान सप्लायर्स प्रालि।

नयाँ बजार खुसीबुमा उनीहरूले ग्रिन कफी बनाउने तथा बिक्री वितरण गर्न अफिस खोले। कार्तिक महिनाबाट नै उत्पादन सुरु भएको हो कफी। ग्रिन कफीको माग ह्वात्तै बढ्यो। कार्यालयमा २० जना कर्मचारी राखियो। ६ जना डेलिभरी ब्वाय पनि।

'सुरुको केही समय राम्रो माग भएको र आम्दानी पनि गरेको देखिएको छ। तर, कति मात्रमा उत्पादन भयो। कति कमाए भन्ने कुनै कागजी रेकर्ड भने देखिएको छैन,' ब्युरो प्रवक्ता एसपी गङ्गा पन्तले भनिन्।

अशिषले घर भाडा बापत ४५ हजार रुपैयाँ र मासिक तलब ५ सय डलर बुझ्ने गरेका थिए। उनीहरूले सुरुमा भारतबाट कफी ल्याउने र विभिन्न केमिकल मिसाएर ग्रिन कफी बनाउने गरेको देखिएको छ। उनीहरूले मिसाएको केमिकल नेपालमा कानुनले बन्देज गरेको प्रहरीले जानकारी दिएको छ।

'उनीहरूले प्रयोग गर्ने केमिकललाई नेपालमा कानुनी अनुमति छैन। यसको साइड इफेक्ट के हो वा यसको काम के हो भन्ने विषयमा परीक्षण गरिरहेका छौँ,' एसपी पन्तले भनिन्।

उनीहरूले देशका विभिन्न स्थानबाट प्रतिकेजी ९ सय ६० रुपैयाँमा कफी ल्याएर त्यसमा केमिकल मिसाएर ग्रिन कफी भन्दै २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ। त्यसैबाट हो, एक सातमा नै १३ किलोसम्म घटाउने भन्दै प्रचार हुने गरेको।

'पहिले कति तौल घटाउने हो? अनि कति समयमा घटाउने सोध्ने रहेछन्। अनि त्यही अनुसार मूल्य र परिणाम समेत तोकेर पठाउने गरेको पाइयो,' एसपी पन्तले भनिन्।

ग्रिन कफीका लागि आवश्यक पर्ने विज्ञापन समेत रसियाबाट नै बनाउने गरेका थिए उनीहरुले। त्यस्तै उनीहरुले भारतमा समेत कारोबार गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। रसियन नागरिक पहिलो पटक नेपाल आएपछि बिचमा एकपटक रसिया गएको देखिन्छ। पछिल्लो समय ९० दिनको पर्यटक भिसामा आएका हुन् उनी। उनको भिसाको समय सकिन लागेको पनि एसपी पन्तले जानकारी दिइन्।

उनीहरूले ६ महिनाको अवधिमा सात करोड रुपैयाँको कारोबार गरेको बयान दिएका छन्। त्यस्तै हुन्डी मार्फत् २ करोड रुपैयाँ समेत नेपालबाट बाहिर पठाएको देखिएको छ। तर, कुनै कागज भने प्रहरीले फेला पार्न सकेको छैन।

प्रहरीले छापा मार्दा कार्यालयबाट १२ वटा जुटको बोरामा रहेको हरियो कफी ६ सय ४४ केजी, बिक्रीको लागि तयार १ सय ग्रामको हरियो कफीको २ हजार ८ सय २२ वटा प्याकेट, विभिन्न केमिकल सहित २५ थान ल्यापटप समेत बरामद गरिएको छ।

'कम्पनी कानुनी रूपमा सबै प्रक्रिया गरेर खोलेको देखिएको छ। तर, जुन प्रकृतिको कामको लागि भनेको थियो त्यो देखिँदैन,' एसपी पन्तले भनिन्।

अहिलेसम्म प्रहरीमा ८ जनाले उनीहरू विरुद्ध जाहेरी दिइसकेका छन्। ग्रिन कफी भन्दै प्रयोग गरेका उनीहरूले शरीरमा विभिन्न असर देखिएको गुनासो आएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell