काठमाडौं: नेपाल सरकार र विश्व बैंक बिच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैँया बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताको कुल रकममध्ये करिब ७१ करोड रुपैँया अनुदान र करिब २ अर्ब १० करोड रुपैँया सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ।
यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको छ। सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थ मन्त्रालयका सचिव शिशीर कुमार ढुंगानाले वनजंगल संकटको समयमा स्थानीय समूहहरुका लागि परम्परागत सुरक्षाको जाल रहेको बताए। यस अयोजनाले नेपालको वनमा आधारित क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्याउने उनको भनाइ छ। यस आयोजनाले प्रदेश र स्थानीय स्तरमा प्राकृतिक स्रोत शासन सृदृढीकरणका लागि समय सान्दर्भिक स्थागत सहयोग पुर्याउने ढुंगाना बताउँछन्।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकाहरुलाई सहयोग पुर्याउने बताए। यस अयाजनले समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने उनको भनाइ छ। अपेक्षित परिणाम हासिल भए आयोजनालाई अझ विस्तार गरिने पनि उनले बताए।
‘यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकालाई सहयोग पुर्याउँनेछ। जुन समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक बृद्धिका लागि सुरुवातको बिन्दु हुनेछ। हामी विश्वस्त छौँ कि यस आयोजनाले अपेक्षित परिणामहरु प्राप्त गरेको खण्डमा यस अयोजनालाई धेरै भन्दा धेरै व्यक्तिहरु लाभान्वित हुनेगरी बृहतरुपमा विस्तार गर्ने अवसरहरु जुर्नेछन्। यस आयोजनाको सहमतिसँगै नेपालको विश्वासिलो साझेदार हुन पाउँदा विश्व बैंक गौरवान्वित भएको छ,’ उनले भने।
समृद्धिका लागि वन आयोजनाले नेपालको दिगो वन व्यवस्थापनलाई सुधार गर्दै वनमा आधारित निजी क्षेत्रको विकास गरी वनक्षेत्रको रुपान्तरण गर्न योगदान पुर्याउने बताइएको छ । यो आयोजना विश्व बैंकद्धारा वित्त पोषित गरिएको विगत १५ वर्षकै पहिलो वन क्षेत्र सम्बन्धी लगानी आयोजना हो ।
