काठमाडौं: नुवाकोटमा भारतको आर्थिक सहयोगमा चार विद्यालय पुनर्निर्माण गरिएको छ। कालिका, पिमलटार, पञ्चलिङ्गे र सरस्वती माध्यमिक विद्यालयको पुनर्निर्माण सम्पन्न भएको हो।
शुक्रवार भारतीय दूतावासका सूचना तथा संस्कृति प्रभाग प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा विद्यालयको उद्घाटन गरे।
उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो।
विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैयाँ रहेको छ। नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ।
यी विद्यालयमा अध्ययनरत १ हजार ८ सयभन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।
