PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

इन्धनको मूल्य बढेसँगै हवाई सेवाप्रदायक कम्पनीले बढाए भाडा



रासस

इन्धनको मूल्य बढेसँगै हवाई सेवाप्रदायक कम्पनीले बढाए भाडा
फाइल फोटो।

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ।

संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिवारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ। निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ।

संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी ९० रुपैयाँ र कम्तीमा छोटो दूरीमा पाँच रुपैयाँ भाडा बढेको छ। काठमाडौँ-धनगढी गन्तव्यमा ९० रुपैयाँ, काठमाडौं-भद्रपुरमा ६० रुपैयाँ भाडा बढेको छ भने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ।

हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ। आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो। बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell