वीरगंज : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको माग जहाँ सम्बोधन हुन्छ, त्यहीँ पार्टीको सहयोग रहने बताएका छन्। बाराका समाजसेवी शंकरसाह कलवारको १३ दिनको पूण्य तिथिको अवसरमा सिमरौनगढमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
महतोले जसपासँग भएको सरकार बनाउने साचोलाई जनताको भावना मुताबिक जनताकै हितका लागि प्रयोग गर्ने बताए।
उनले भने, ‘प्रम ओलीको असंवैधानिक कदमलाई सर्वोच्चले गलत सावित गर्दै सच्याएर संसद पुनर्स्थापन गरिसकेको छ। अब सरकार बनाउने कसरत भइरहेको छ, जसपाले जनता र पार्टीको हितमा आगामी राजनीति अघि बढाउछ।’
प्रसिद्ध एतिहासिक, पर्यटकीय स्थल सिम्रौनगढको आफ्नै पहिचान, अधिकार तथा शासन रहेको चर्चा गर्दै नेपाल भौगोलिक रुपमा एकीकरण भएतापनि जनजनको भावनाको एकीकरण राज्य चलाउने संकीर्ण सोचका साशकहरुको कारण हुन नसकेको उनको आरोप थियो।
‘अहिले पनि राज्यले पछि परेका जाति समुदायको लागि धेरै गर्नु पर्ने छ, हामीलाई ठीक यही कुराको पीडाले सताई रहेको हुन्छ, राज्यले सोच्नु पर्छ,’ उनले भने।
प्रदेश नम्बर २ का सभामुख सरोज यादवले शंकर साह कलवार विकाशील सोच र असल विचारको धनी व्यक्ति भएको बताए।