PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय



पहिलोपोस्ट

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका वर्ष खेलाडी, सरस्वती लोकप्रिय
फोटो : नेपाल खेलकुद पत्रकार मञ्च।

धनगढी : दोस्रो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पूरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो।

पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दुरीमा पहिलो स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए। पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४ दशमलव २० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए। भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए।

यस्तै, सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण दुई रजत र तीन कास्य जितेकी थिइन्। एक सय, दुई सय र चार सय मिटर फ्रिस्टाईल तथा दुई सय मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने किर्तिमान उनको नाममा छ। दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को कीर्तिमान पनि उनको नाममा छ।

यस्तै, भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन्। चौधरीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो। उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन्। चौधरीले ४५ दशमलव ९ प्रतिशत भोट पाइन् भने सिंहले ४४ दशमलव ८५ र चन्दले ९ दशमलव २५ प्रतिशत भोट पाइन्। नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टिमकी महत्वपूर्ण खेलाडी थिइन् चौधरी। उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन्। दिनेश सोप वर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो। उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो। उनी एक स्वर्ण सहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए।

कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई नेपाल खेलकुद पत्रकार सञ्च कैलालीले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरेको छ। दुवै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो। गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन्।

अन्जलीले १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन्। उनले ह्याट्रिक सहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन्। उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन्।

यस्तै, कुस्तीकी संगीता धामी निसर्ग अस्पताल वर्ष युवा खेलाडी घोषित भएकी छिन्। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन्। उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन्। उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।

ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन्। माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला)बाट पुरस्कृत गरिएको हो। दाहालले १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए। जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ वर्ष मुनिमा कास्य पदक र अन्नपुर्ण अन्तर्राष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत गरिएको मञ्चले जनाएको छ।

यस्तै, १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुवेलाई अवार्ड प्रदान गरिएको हो। उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन्। उनको राष्ट्रियस्तरका कुस्ती प्रतियोगितामा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell