PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्टाइलिस विदुषीको फ्लेवरमा जगमगाएको गोल्डस्टार



भावना शर्मा

स्टाइलिस विदुषीको फ्लेवरमा जगमगाएको गोल्डस्टार

हल्का अनि टिकाउ। माओवादी द्वन्द्वताका खुब प्रयोग भयो गोल्डस्टार जुत्ता। 'लडाकुको जुत्ता' नै कहलियो। त्यसैले त कपडाको त्यो 'ट्रेनर जुत्ता' लगाउनेहरू सेना र प्रहरीको तारो नै बने। खुट्टामा गोल्डस्टार हुनासाथ कडाइका साथ छानविन। 

त्यो समय विद्रोहीको पर्याय रहेको गोल्डस्टार अहिले भने लोकप्रिय 'ब्रान्ड' बनेको छ, सबै वर्ग समेट्नेगरी। नेपालमा बनेको जुत्ता फेसनेबल ब्रान्डका रुपमा स्थापित हुनुको श्रेय चाहिँ विदुषी राणालाई जान्छ। मार्केट र ब्राण्डिङको पढाईले बजार बुझाएको थियो उनलाई। त्यसमाथि केही वर्ष बैंकमा मार्केटिङ र ब्राण्डिङकै काम गरेको उनको अनुभव यसका लागि काम लाग्यो। त्यही अनुभव बोकेर पाँच वर्षअघि किरण शु म्यानुफ्याक्चरर्समा छिरिन् उनी, मार्केटिङ र ब्राण्डिङ निर्देशकका रुपमा। 

अनि विदुषीको सुत्रले गोल्डस्टार जुत्ताको शैली र यसबारे मान्यतालाई नै भत्काइदियो। 

'विदुषीको फ्लेवर'को सुरुवात 
विदुषी फ्लेवर गोल्डस्टार जुत्ताका डिजाइनहरूमा देखिन थाले। उनले क्लासिक डिजाइनबाट माथि उठेर युवा लक्षित 'जि टेन' सिरिज सुरु गरिन्। त्यही सिरिजले हो बजारमा गोल्डस्टारलाई फेसनेवल ब्राण्डका रुपमा पनि स्थापित गरेको। 

४५ वर्ष पुरानो लिगेसी भएको कम्पनीमा नयाँ प्रयोग थाल्नु सहज कहाँ थियो र? विदुषीका श्रीमान आमिर प्रताप राणा भन्थे - गोल्डस्टारलाई मार्केटिङ नै किन चाहियो र? हाम्रो आफ्नै गुणस्तर र बजार छ जसलाई कसैले खोस्ने आँटै गर्न सक्दैन। 

विदुषी भने समयसँगैको रफ्तारमा अघि बढ्नुमा विश्वास राख्ने। 'जे छ त्यतिमै किन सन्तुष्ट भइरहने?', उनी प्रश्न गर्थिन्। एकै किसिमको ग्राहक र बजारबाट माथि उठ्नका लागि पनि उनले मार्केटिङ र ब्राण्डिङमा जोड दिइन्। 

गोल्डस्टारको एउटै डिजाइन बजारमा उपलब्ध थियो। नेपालमा मात्र होइन आयात हुने सामाग्री पनि त्यही क्लासिक डिजाइनमा सीमित। आमिरलाई त जुत्ताको त्यो स्वरुपमा समेत परिवर्तन आवश्यक लागेको थिएन। 

'मैले नै घच्घच्याएँ। प्रश्न गर्न थालेँ किन एउटै किसिमका मान्छेका लागि मात्र जुत्ता बनाइरहने?,' उनले सुनाइन्। त्यही प्रश्नहरूको जवाफ खोज्दाखोज्दै सुरुवात भयो गोल्डस्टारको नयाँ शैली र डिजाइनहरूको।

विदुषीले कम्पनी ज्वाइन गर्दा श्रीमानसँग दुई वर्षको समय मागेकी थिइन्। त्यस अवधिमा गोल्डस्टारलाई नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित। 

उनले तीनवटा फरक प्रक्रियालाई एकसाथ अघि बढाइन्। पहिलो - कम्पनीको विशेष 'डिजाइन सेल' स्थापना। डिजाइन सेलका लागि विदेशबाट डिजाइनर झिकाइन्। हरेक साता नयाँ नयाँ डिजाइनका जुत्ता बजारमा पठाइन्। र, तिनको फिडब्याक लिन थालिन्। 

दोस्रो कदम - गोल्डस्टार जुत्ताको आफ्नै आउटलेट सुरु गरिन्। कति आफ्नै र कति अरु स्टोरहरूले गोल्डस्टारका फ्रेन्चाइजी लिँदै खुल्न थाले। 
तेस्रो - अनलाइनबाट पनि गोल्डस्टार जुत्ता किन्न मिल्ने व्यवस्था मिलाइन्। ग्राहकसँग सोझो प्रतिक्रिया लिने र प्रशस्तै सर्भे र अनुसन्धान गर्ने अवसर जुट्यो।  

हाल गोल्डस्टारको कारखानामा दैनिक ७५ हजार जोर जुत्ता बन्छ। कम्पनीमा करिब ३ हजार कामदार छन्। ती कामदारमध्ये ६५ प्रतिशत महिला हुन्। 

'पढेका, नपढेका, स्किल्ड, सेमी स्किल्ड सबै किसिमका महिलाहरुलाई रोजगारी दिएका छौं। सुरुवातमा ३ देखि ६ महिनाको तालिम दिएर हायर गर्छौं। त्यसरी तालिम लिएकाहरूले गोल्डस्टार छोडे पनि जहाँ पनि गएर काम गर्न सक्षम हुन्छन्,' यति सुनाउँदा उनी गर्विलो देखिन्थिन्। 

विदेशमा बजार बिस्तार गर्ने नेपाली जुत्ता
झण्डै ५० वर्षअघि नेपालमा थाइल्यारन्ड र भारतबाट चप्पल आयात हुन्थे। तर, विदुषीका ससुरा नुरप्रताप राणाले भने चप्पलको कारखाना खोले, हेटौंडामा। थाइल्याण्डबाट मेशिन त ल्याए। तर, त्यस समय मेशिनबारे जानकार प्राविधिक थिएनन्। न त कच्चा पदार्थ कसरी ल्याउने भन्ने ज्ञान नै थियो।  

चुनौतीहरू बिच नुरप्रतापले उत्पादन थालेको 'हात्ती छाप चप्पल' नेपाली बजारको 'स्वदेशी कमाल' बन्यो।  आफ्नै देशमा बनेको सस्तो र सजिलो। त्यसैले त 'हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो?' भन्ने विज्ञापनको छाप आज पनि धेरै नेपालीको मन मष्तिष्कमा हुनुपर्छ। 

कम्पनीले १९९० को दशकमा हो जुत्ता उत्पादन थालेको। गोल्डस्टारसँगै सुरु भएको थियो स्पार्क भन्ने ब्राण्ड पनि। तर, सस्तो र टिकाउ भएकाले गोल्डस्टार जुत्ता नै लोकप्रिय भयो। पहाडमा भारी बोक्नेदेखि तराईमा रिक्सा चलाउनेका खुट्टामा यही जुत्ता देखिन थाल्यो। 

जुत्ताको माग बढ्दो भएपछि २५ वर्षअघि देखि गोल्डस्टारको क्लासिक डिजाइन भारतमासमेत निर्यात हुनथाल्यो। त्यसपछि कूल उत्पादनको ६० प्रतिशत बजार बन्यो भारत। ४० प्रतिशतमात्र स्वदेशी बजारमा पत हुन्थ्यो। उत्तर प्रदेश र बिहारमा गोल्डस्टारको प्रयोग असाध्यै धेरै। 

'लामो समय त्यसभन्दा माथि जान सकेनौं। एउटै डिजाइन गोल्डस्टारको परिचय जस्तो बनेको थियो। नयाँ डिजाइनमा जानुपर्ने आवश्यकता पनि महसुस नभएको समय थियो त्यो। क्लासिक गोल्डस्टार कै उत्पादन र बिक्री भ्याइ नभ्याइ भयो। त्यतिमै सीमित रहिरह्यौं,' राणाले सुनाइन्।    

उनका श्रीमान आमिरको रुची पनि डिजाइनिङमा नै। विदुषी आएपछि स्थापित डिजाइनिङ सेलले हरेक हप्ता १० देखि १५ वटा नयाँ डिजाइन बजारमा पठाउन थाल्यो। बजारको फिडब्याक लिएर उत्पादन बढाउँदै गए। यतिबेला उनीहरूले क्लासिक गोल्डस्टारमात्र नभइ 'हाइ-फेसन' तिर जान आवश्यक भएको महसुस गरिसकेका थिए। त्यसैले नयाँ रणनीतिसँगै नयाँ डिजाइनहरू ल्याउन थाले। गोल्डस्टारका जुत्ताहरूको ब्राण्डिङ तीव्र बनाए।  

'त्यतिन्जेल बजारमा सबैलाई गोल्डस्टार के हो भन्दा जुत्ता भन्ने थाहा थियो। तर, कहाँ पाउँछ भन्ने चाहिँ थाहा थिएन। त्यसैका लागि हामीले अनलाइन स्टोरमा जुत्ता राख्ने र ठाउँ ठाउँमा शोरुम खोल्न थाल्यौं,' विदुषीले सुनाइन्।  

पहिलोपटक सिभिल मलमा खुल्यो स्टोर। अहिले भने देशभर कम्पनीले ५९ वटा शोरुम खोलिसकेको छ। फैलिएको शोरुमले कम्पनीलाई उपभोक्तासँग निकट बनायो। जब उपभोक्तासँग 'कनेक्ट' हुन थाल्यो त्यसपछि बल्ल नयाँ आइडिया र डिजाइनहरुका बारेमा बजारबाट प्रतिक्रिया मिल्न थाल्यो। यसबाटै कम्पनीले नयाँ लय पनि समात्यो। 

लडाकुको जुत्तादेखि फेसनेबल सिरिजसम्म 
लडाकुले प्रयोग गर्ने त्यो क्लासिक गोल्डस्टारबाट फेसनेबल सिरिज 'जि टेन'सम्म आइपुग्दा यसको 'मार्केट सिफ्ट' निक्कै लोभलाग्दो छ। 

पहिले यो जुत्ता सीमित वर्गले मात्र लगाउँथे। अहिले युवालाई लक्षित गरी नयाँ सिरिजहरू आए। कम्पनीले महिलाले सारी र कुर्तामा लगाउन मिल्ने स्याण्डलहरु डिजाइन गर्यो । तर, गोल्डस्टारलाई सधैँ क्लासिक डिजाइनकै मात्र सम्झिने जमात अझै छ जो नयाँ डिजाइनमा पैसा हाल्न चाहँदैन। त्यो वर्गको मानसिकता बदल्नु ठूलो चुनौती रहेको विदुषीले अनुभव गरेकी छिन्। 

'अझै पनि उपभोक्तालाई 'गोल्डस्टार जुत्ता त हो नि ! किन बढी तिर्ने? भन्ने मानसिकता छ। बाहिरबाट आएका नक्कली जुत्तालाई चाहिँ जति पनि पैसा हाल्ने तर नेपाली ब्राण्डलाई पैसा तिर्न मन नगर्नेहरू छन्,' उनको गुनासो छ।  

'ब्रान्ड कन्सियस' विदुषी स्वयं पनि गोल्डस्टारकै जुत्ता लगाउँछिन्। 

'त्यसो भन्दैमा अरु जुत्ता नलगाउने होइन। अरु ब्राण्डको लगाएपछि मात्रै गोल्डस्टार र अरुमा के फरक छ भन्ने थाहा हुन्छ। म एडिडास, न्यू भान्स, रिबोक, नाइकीजस्ता सबै ब्राण्ड लगाउँछु। हामी पनि त्यस्तै गुणस्तरको बनाउन सक्छौं। तर, त्यो गुणस्तरको लागि कति पैसा हाल्नुपर्छ र त्यो तिर्न हाम्रो कष्टमर कतिको तयार छन्? त्यो मुख्य कुरा हो,' उनले सुनाइन्। 

दुई बच्चा हुर्काउने क्रममा पूर्णकालीन आमाको भूमिकामा बसेकी थिइन् उनी। अहिले भने पूर्ण रुपमा गोल्डस्टारकै प्रवर्द्धनका लागि समय खर्चिन्छिन्। पारिवारिक व्यवसायको भार श्रीमानमाथि भएपछि त्यो सेयर गर्न पनि उनी कम्पनीमा प्रवेश गरेकी हुन्। 

विदुषीको अबको लक्ष्य – गोल्डस्टारलाई अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा स्थापित गर्नु। 

गोल्डस्टारले हालै अष्ट्रेलियामा फ्रेन्चाइजी स्टोर खोलेको छ। त्यस्तै, बहराइन, भुटान, मलेसिया, अमेरिका र बेलायतमा बस्ने नेपालीहरूले नै गोल्डस्टार जुत्ता लगिरहेको उनले बताइन्। 

'तर, हामी आफैँ निर्यात गर्न चाहन्छौं। विदेशमै कारखाना खोल्दा लागत सस्तो पर्न जान्छ। उतै कारखाना खोलेर गोल्डस्टार जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट नेपाली ब्राण्डका रुपमा उभ्याउन चाहन्छौं,' विदुषीले एशिया, पूर्वी यूरोप र अफ्रिकामा गोल्डस्टारको कारखाना खोल्ने लक्ष्य राखेको बताइन्। 

'यसका लागि सरकारको सहयोग चाहिन्छ र हामी यसको लागि प्रयास पनि गरिरहेका छौं,' उनले भनिन्। 

गोल्डस्टारमात्र नभइ, प्राय नेपाली जुत्ता उद्योगहरूले अहिले झेल्नुपरेको मुख्य चुनौती भनेको विदेशबाट अण्डर इन्भ्वाइसिङ गरेर ल्याइएका महङ्गा ब्राण्डका 'नक्कली जुत्ता'हरू हुन्। 

'हामी यति दु:खका साथ ऋण लिएर, रोजगारी दिएर, पूरा कर तिरेर बजारमा सस्ता जुत्ता पठाउँछौं। तर, कर नै नतिरी बजारमा आएका नक्कली जुत्तासँग प्रतस्पर्धा गर्नुपर्छ। यसरी कसरी स्वच्छ बजार प्रतिस्पर्धा हुन सक्छ?,' अवैध रुपमा जुत्ता भित्र्याउन रोक्नुपर्ने तर्कसहित उनको प्रश्न छ। 

आयात हुने जुत्ताहरूमा बढी कर लगाएर भए पनि स्वदेशी उद्योगलाई संरक्षण गर्नुपर्छ विदुषीको बुझाइ छ। 

नेपालमा साना ठूला गरी १५ सय जति जुत्ता उद्योग छन्। ती सबै जुत्ता उद्योगमा ५० हजारभन्दा बढी कामदारले रोजगारी पाएका छन्। 

कोभिड-१९ र थलिएको बजार
कोभिड-१९ महामारी र त्यसको नियन्त्रणका लागि जारी लकडाउनको मारमा पर्योस गोल्डस्टार पनि। जुत्ता उत्पादक कम्पनीमा कामदार धेरै थिए। लामो समय बन्द हुँदा आर्थिक समस्या त पर्ने नै भयो। त्यसैले ५ महिनापछि कम्पनीले काम पुन: सुरू गर्यो्, सामाजिक दुरी र अन्य सुरक्षा नीति अपनाएर। 

दश प्रतिशत कामदार राखेर कोभिडले थलाएको बजार अनुरुप उत्पादन थालियो।

'हामीले कामदारलाई तलब खुवाउनै पर्ने थियो। जुत्ता पो बिक्दैन, जे आवश्यक छ त्यो त बिक्छ नि! भन्दै हामीले महामारीको बेला काम लाग्ने सामाग्री उत्पादन थाल्यौं,' उनले सुनाइन्, 'पीपीइ सुट र मास्क बनाएर बिक्री थाल्यौं।'  

'मेरो मास्क' ब्राण्डमा हामीले फिल्टरेसन प्रविधिको चार लेयर्सको मास्क बजारमा पठायौं। पीपीइ सुट बनाउने कपडा मगाएर त्यो पनि थाल्यौं। ५ महिना बन्द हुँदा पनि हामीले उद्यम भने रोकेनौं,' उनले सुनाइन्। 

कठिन अवस्थामा पनि उद्यम कसरी गर्ने भन्ने पाठ कोभिडले पढाएको बताउँछिन् विदुषी। 

कोभिड महामारीले गोल्डस्टारका केही ठूला योजनाहरु अल्झिन पुग्यो। हरेक महिना दिने नयाँनयाँ डिजाइनमा ब्रेक लाग्यो। ५ महिना कारखाना बन्द हुँदा भारततर्फको निर्यात रोकियो। कच्चा पदार्थ आउन सकेन। 

कोभिड महामारी नभएको भए कम्पनीका शोरुमहरु सहजै एकसय नाघ्थ्यो। 

'फ्याक्ट्री त खोलियो। तर, बाहिर पठाउने चाहिँ गएन। अहिले त टर्नओभर पनि निकै कम छ। भारत हाम्रो राम्रो बजार थियो, लामो समय त्यो गुम्यो। नयाँ डिजाइनका साथ ब्याक-लक भयो। नेक्ट्स सिजनका लागि प्लान गरेका छौं,' भारतको बजार जोगाउनु पनि कम्पनीको लागि ठूलो चुनौती रहेको विदुषीले स्वीकारिन्। 

अहिले फेरि कम्पनीले जुत्ता उत्पादन थालिसकेको छ। उज्याला र रंगीचंगी लाइफस्टाइल सुजहरू, महिलाका लागि डिजाइनर स्याण्डल अनि विद्यार्थीका लागि स्कुलका जुत्ता बजारमा पुग्दैछन्। 

कोभिड महामारीबाट तङ्ग्रिदैँ गर्दा गोल्डस्टारले पहिलोपटक छालाका जुत्ताहरुमा पनि हात हालेको छ। 

'कम्फर्ट, ड्युराबिलिटी र प्राइस फ्याक्टरका लागि गोल्डस्टार रोज्ने हो। बजारमा प्राइस ब्याटल छ। हाम्रो धेरै परिमाणमा उत्पादन हुन्छ, त्यसकारण हामी मार्जिन कम राख्छौं र जुत्ता पनि सस्तो हुन्छ। फेरि उपभोक्ताले नै भन्छन् गोल्डस्टार त महँगो हुनै भएन नि!,' विदुषी मुस्कुराइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell