PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कृष्णभक्त पोखरेल फर्किए ओलीतिरै : गुटगत गतिविधि स्वीकार्य नहुने ओलीको चेतावनी, एमाले बनेपछि वामदेव खुशी



प्रकाश भण्डारी

कृष्णभक्त पोखरेल फर्किए ओलीतिरै : गुटगत गतिविधि स्वीकार्य नहुने ओलीको चेतावनी, एमाले बनेपछि वामदेव खुशी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेको बालुवाटारमा बसेको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ।

सर्वसम्मत रुपमा प्रस्ताव पारित भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

'संसदीय दलको विधानलाई संशोधन गर्ने प्रस्ताव पारित भएको छ,' उनले भने।

अब संशोधनलाई केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्ने तयारी भइरहेको छ। आजको बैठकमा नेकपा एमालेमा छुट्टै समूह चलाइरहेका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए। फागुन २८ गते प्रधानमन्त्री ओली समूहले एकलौटी निर्णय गरेको भन्दै फिर्ता लिनुपर्ने अडानमा रहेका गौतम बिहीवारको संसदीय दलको बैठकमा भने अनुपस्थित थिए।

गौतमले आफूलाई एमाले पार्टी फेरि अस्तित्वमा आएकोमा खुशी लागेको बैठकमा बताएका थिए।

'उहाँले एमाले बनेकोमा खुशी लागेको छ भन्नुभयो,' गौतमलाई उदृत गर्दै भट्टराईले भने। गौतमले आफू नेकपा एमाले एकताको पक्षमा रहेको बताएका थिए। उनले एकता अभियान भने दुवै समूह नमिलेसम्म जारी राख्ने अडान लिएका थिए।

यस्तै, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेता कृष्णभक्त पोखरेलले गुट परिवर्तन गरेका छन्। उनले अब आफू ओली समूहमा रहेको बताएका थिए। उनले प्रधानमन्त्री र संसदीय दलको नेता फेर्ने कुरामा आफ्नो नेपाल-खनाल समूहसँग असन्तुष्टि रहेको बताए।

प्रमूख सचेतक भट्टराईका अनुसार उनले अब ओलीलाई नै बाँकी कार्यकाल प्रधानमन्त्री मान्नुपर्ने बैठकमा धारणा राखेका थिए।

'माधव नेपाल समूहले भेला गर्नुपर्छ। पार्टीमा गुट चलाउनुपर्छ भन्नुभएको छ। तर, अब प्रधानमन्त्री र दलको नेता फेर्न हुन्न भन्ने मेरो धारणा हो। त्यसैले अब म मुलधारको एमालेमा हुन्छ। केही गल्ती भएको भए माफी चाहन्छु,' पोखरेलको भनाई उदृत गर्दै भट्टराईले भने।

बैठकमा नेपाल-खनाल समूहका सांसद जीवनराम श्रेष्ठ, यज्ञ सुनुवार र सोमनाथ पाण्डे, नेपाल खनाल समूहका ३८ जना सांसदको हस्ताक्षर सहितको पत्र लिएर उपस्थित भएका थिए। उनीहरुले पार्टी विधिअनुसार बैठक बसे आफू सहभागी हुने बताएका थिए।

प्रधानमन्त्री ओलीले उनीहरुको पत्रको जवाफ स्वरुप एमालेमा अब गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका छन्। ओलीले पार्टीमा समूहगत रुपमा अलग गतिविधि गर्न कसैलाई छुट नभएको बताए। प्रमुख सचेत भट्टराईका अनुसार समूहगत गतिविधि जारी राखे पार्टीको विधान अनुसार अघि बढ्ने ओलीले चेतावनी दिएका थिए।

'उहाँले कसैलाई एक्लै केही गर्छु भन्ने छुट भए पनि समूहसँग मिलेर गरेमा त्यो स्वीकार्य हुँदैन भन्नुभयो,' भट्टराईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell