PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद मुक्त, जेलमा राख्ने कारण नरहेको दिएको थियो अदालतले आदेश



पहिलोपोस्ट

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद मुक्त, जेलमा राख्ने कारण नरहेको दिएको थियो अदालतले आदेश

काठमाडौं : हत्या आरोपमा भारतको कोलकाताको कारागारमा ४० वर्षदेखि रहेका नेपालका दुर्गाप्रसाद तिम्सिना रिहा भएका छन्। अदालतले गत बुधवार नै दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएपनि अदालती प्रक्रिया पूरा हुन ढिलो भएपछि कलकताको दमदम कारागारबाट आजमात्रै उनको रिहाइ भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

इलामबाट ४ दशक अघि दार्जिलिङ पुगेका उनी हत्या आरोपमा पक्राउ परेका थिए। भारतीय सेनामा जागिर दिलाउने भन्दै उनलाई एक व्यक्तिले पश्चिम बंगालको दार्जिलिङ बोलाएका थिए। तिनै व्यक्तिले उनलाई हत्या गर्न लगाएको प्रहरी रिपोर्टमा उल्लेख छ।

बुधवार कोलकाता जिल्ला अदालतका न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायधीश अनिरुध रोयको इजलासले उनलाई जेलमा राख्ने कुनै कारण नभएको भन्दै रिहा गर्न आदेश दिएका हुन्। अदालतले दुर्गाप्रसादलाई उनको आफन्त प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन समेत भनेको थियो। अदालतले चाहेको समयमा दुर्गाप्रसादलाई अदालतमा उपस्थित गराउने शर्तमा अदालतले उनलाई नेपाल पठाउन स्वीकृति दिएको थियो। प्रत्येक ६ महिनामा उनको मानसिक अवस्था बारेमा जानकारी गराउन समेत अदालतले भनेको छ। उनीविरुद्ध लागेको मुद्दाको फैसला भइसकेको छैन। उनलाई सुनुवाई बिनै कारागारमा राखिएको थियो।

दुर्गाप्रसादलाई कलकताको दमदम कारागारमा रहँदा उनको मानसिक अवस्था कमजोर बन्दै गएको थियो। कारागारमा रहेका एक कैदीले बाहिरिएपछि दुर्गाप्रसादको अवस्थाका बारेमा आफ्ना साथीहरुलाई सुनाएका थिए। त्यही कुरा कोलकाताको ह्याम रेडियाका अपरेटरहरुसम्म पुग्यो। उनीहरुले नेपाल रेडियो क्लबका सदस्याहरुलाई सम्पर्क गरे र दर्गाप्रसादको आमा मनोमाया देवीसम्म पुगे।

त्यसपछि मात्रै उनको अवस्‍था सार्वजनिक भएको थियो। त्यसपछि दीपक जैसी समेत भनिने ७० वर्षीय दुर्गाप्रसादको अवस्थाबारे आफन्तहरुले नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई जानकारी दिएका थिए।

दुर्गाप्रसादको स्वास्थ्य अवस्था बारे समाचारहरु प्रकाशित भएपछि कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशले वकिलहरुलाई अदालतमा निवेदन प्रस्तुत गर्न भनेका थिए। यही वर्षको सुरुवातमा दुर्गाप्रसादको रिहाइ र नेपाल फिर्ता गराउन माग गर्दै अदालतमा निवेदन प्रस्तुत गरिएको थियो। त्यही निवेदनमाथि सुनुवाइ गर्दै दुर्गाप्रसादलाई रिहा गर्न अदालतले आदेश दिएको हो।

पश्चिम बंगालका 'स्टेट लिगल अथोरिटी' अधिवक्ता जयन्त नारायण च्याटर्जीका अनुसार हाल दुर्गाप्रसादको मानसिक अवस्था निकै कमजोर भइसेकेको र नेपालको बारेमा उनलाई केही याद नभएको जनाएका छन्।

युनिभर्सिटी अफ कोलकाताका मनोवैज्ञानिकहरुको विज्ञ टोलीले समेत दुर्गाप्रसादको मानसिक अवस्थाबारे अध्ययन गरेको थियो। उनीहरुले आफ्नो रिपोर्टमा दुर्गाप्रसादको 'आइक्यू लेभल' ९-१० वर्षको बालकको जस्तो रहेको उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell