काठमाडौं : सरकारको नेतृत्व गर्नका लागि अहिलेसम्म कुनै पनि दलले कांग्रेसलाई औपचारिक प्रस्ताब नगरेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्।
माओवादी र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गर्न भन्दा पनि कांग्रेस अग्रसर नभएको भनी नेतृत्वको आलोचना भइरहेका बेला उपसभापति निधिले त्यस्तो कुनै प्रस्ताव नआएको बताएका हुन्।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा गत साता भएको छलफलमा सहभागी उपसभापति निधिले जसपाका नेताहरुले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नगरेको प्रष्ट पारे।
भक्तपुरमा शनिवार आयोजित नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघको कार्यक्रममा बोल्दै उपसभापति निधिले प्रतिपक्षी कुन दल होला जो सरकार बनाउन अग्रसर नहोस्? भन्ने प्रश्न गर्दै त्यसका लागि वातावरण अनुकुल हुनुपर्ने बताए।
कांग्रेसलाई गत निर्वाचनमा जनताले प्रतिपक्षमा बस्ने मत दिएका छन् भन्ने कांग्रेस नेताहरु नै अहिले आएर सरकार गठनका लागि नेतृत्वले किन अग्रसरता नलिएको भनेर आलोचना गरेकाप्रति उनले आश्चर्य व्यक्त गरे। बैकल्पिक सरकार गठन गर्नका लागि कांग्रेससँग पर्याप्त संख्या नभएको निधिको भनाई थियो।
'अलिकति पनि नैतिकता भएको भए १ मिनेट पनि ढिला नगरी सर्बोच्चको फैसला लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो,' निधिले भने, 'लोकतन्त्रको सौन्दर्य भनेको यो हो र यो अन्तर्राष्टिय अभ्यास पनि हो।'
सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छैन तर प्रधानमन्त्री ओली भने त्यसको फेस गर्छु भनिरहेका छन्।
अदालतको फैसलासँगै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि यसकारण विघटन गरेको थिएँ भनेर वक्तव्य दिनुपर्नेमा प्रधानमन्त्री चुकेको निधिको भनाई थियो।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि बसेका चारवटा बैठक शोक प्रस्ताव पारित गर्दै सकिएकाप्रति आपत्ति जनाउँदै उपसभापति निधिले सरकारले प्रतिनिधिसभालाई अकर्मण्य र निस्क्रिय बनाएको आरोप लगाए।
उनले प्रतिनिधिसभालाई गतिशील र व्यस्त बनाउनु पर्नेमा जोड दिए। जनताका पक्षमा छलफल गरेर नीति निर्माण गर्ने थलो प्रतिनिधि सभालाई बिजनेश विहीन बनाउनु लोकतन्त्र कमजोर पार्ने खेल भएको उनको टिप्पणी थियो। असंवैधानिक ढंगबाट विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संविधान लिकमा आएको भए पनि सरकारले प्रतिनिधिसभालाई निकम्मा बनाउने काम गरिरहेको आरोप लगाए।
संसदमा लोकतन्त्र बिरोधी शक्तिको बाहुल्यता भएको भन्दै उनले ती पक्षबाट लोकतन्त्रका पक्षमा काम हुनै नसक्ने उनले ठोकुवा गरे।
