PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थानीय तह शहीद स्मृति गोल्डकपको उपाधि आर्मीलाई



निशा गुरुङ

स्थानीय तह शहीद स्मृति गोल्डकपको उपाधि आर्मीलाई

हेटौँडा : हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिवारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विरुद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो।

प्रतिष्पर्धात्मक फाइनल खेलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। उपाधि जिताउन उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका बुढाथोकी म्यान अफ द म्याच घोषित भएर नगद १० हजार प्राप्त गरे।

उपाधि विजेता आर्मीले १० लाख रुपैयाँ र उपविजेता मकवानपुरले ५ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको आकर्षणका रुपमा रहेको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भएर रिगल हेटौंडा रिसोर्टका खेलाडी अमिर श्रेष्ठले रोयल इन्फिल्ड बुलेट बाइक पुरस्कार पाएका छन्। हेटौँडा स्कुल अफ म्यानेजमेन्टले उक्त पुरस्कार सौजन्य गरेको हो।

फुटबलर श्रेष्ठ लगातार दुई दिन दुई फरक क्लबबाट फरक स्थानमा फुटबल खेलेका थिए। उनी दुवै स्थानमा म्यान अफ द म्याचसमेत घोषित भएका थिए। नेपालगञ्जमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको एन्फा प्रेसिडेन्ट लिग र हेटौंडामा तेस्रो शहीद स्मृति राष्ट्रिय गोल्डकपमा उनी म्यान अफ द म्याच चुनिएका थिए।

२०६० सालअघि हेटौँडाको इन्टरनेट एफसीबाट उनले फुटबलमा डेब्यु गरेका हुन्। त्यसपछि २०६० सालमा उनी एन्फाको अण्डर-१४ मा छनौट भए। ३ वर्ष एन्फाको अण्डर-१४ मा रहँदा उनले उत्कृष्ट मिडफिल्डरको भूमिका निर्वाह गरेका थिए। राष्ट्रिय टोलीका कप्तान विराज महर्जन तथा अन्य खेलाडी रविन श्रेष्ठ, भरत खवास, शिव श्रेष्ठ, विक्रम लामा उनकै ब्याजका हुन्। अण्डर-१४ मा रहँदा उनीहरु एकसाथ खेल्थे।

खेलाडी भएर परिवारको त के आफ्नै ज्यानसमेत पाल्न धौधौ भएपछि उनी ५ लाख ऋण लिएर कतार पुगे र कतारमा स्काभेटर अपरेटरको रुपमा काम गरे। उपाधि जिते सरकारले प्रोत्साहनस्वरुप केही महिनामात्र पुग्ने रकम उपहार दिने, पराजित भए निरुत्साहित पार्ने काम गर्ने, खेलाडीलाई पुग्ने मासिक भत्ता नदिनेजस्ता समस्याले आफू खाडी मुलुक कतार गएको उनले सुनाए।

प्रतियोगिताका उत्कृष्ट फरवार्ड मकवानपुरका रञ्जन बिष्ट, बेस्ट डिफेन्डरमा आर्मीका दीपक गुरुङ, बेस्ट मिडफिल्डरमा आर्मीकै सेसेहाङ आङ्दम्बे, गोलरक्षकमा उपविजेता टोलीका विवश चौधरी र आमीका नवीन न्यौपाने बेष्ट कोच भए। विधागत् उत्कृष्ट हुनेलाई जनही २५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

गोल्डकप विजेता र उपविजेतालाई अखिल नेपाल फुटबल संघ अध्यक्ष कर्माछिरिङ शेपा, वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतलगायतले पुरस्कार प्रदान गरेका थिए।

हेटौँडामा आर्मीको यो दोस्रो जित हो। नेपाल पुलिसलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै २०७४ फागुनमा तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि पनि त्रिभुवन आर्मी क्लबले जितेको थियो। उक्त उपाधि विजेता त्रिभुवन आर्मीले ५ लाख प्राप्त गर्दा यस पटकको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिसहित आर्मीले नगद १० लाख हात पारेको छ।

आर्मीले धनगढीमा सोही वर्ष भएको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को उपाधिमाथि पनि कब्जा जमाएको थियो। आर्मीले एपीएफलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गरेर उपाधिसँगै ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो।

२०७४ फागुन अन्तिम साता झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि पनि आर्मीले नै हात पारेको थियो। घरेलु मैदानमा झापालार्ई सडनडेथमा आर्मीले ८-७ गोलअन्तरले पराजित गरेको थियो।

हेटौँडामा तेस्रो संस्करणको प्रतियोगिताको सेमिफाइनलमा विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १-० गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको थियो। ‘ए’ डिभिजनको मच्छिन्द्रसँगको जितले उत्साहित भएर यस संस्करणको अन्तिम स्पर्धामा उत्रिएको मकवानपुरले दर्शकको भरपुर साथ पाएर पनि जित निकाल्न भने सकेन।

जिल्लाका दश स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा फागुन २७ गतेदेखि प्रतियोगिता सञ्चालनमा आएको थियो। जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो। पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुरले जितेको थियो।

प्रतियोगितामा ३ विभागीय, ३ वटा ‘ए’ डिभिजन क्लब, एक विदेशी टिम, एक आयोजक र दुई मोफसलका गरी दश टोली सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell