PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि कांग्रेसले ओलीको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि कांग्रेसले ओलीको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। शनिवार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि ओलीको विकल्पमा जानुपर्ने बताएका हुन्।

राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए। नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राखे।

उनले भने, ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरु मध्ये को-कोसँग मिलाएर/मिलेर के गरेर हुन्छ कसैलाई अगाडि बढाएर हुन्छ कि, आफू अगाडि बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठूलो उत्पात गरे, उधुम गरे, तिनको विकल्पमा नयाँ शसक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका पार्टीले खेल्नुपर्छ। यो पार्टीले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ। देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्छ। देशलाई अन्योलमा राख्ने होइन। अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नुपर्छ। नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ। नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो। उहाँहरु कर्तव्यच्युत, किंकर्तव्यविमुढ भएर बस्ने बेला होइन।’

नेपाली कांग्रेसका कतिपय नेताहरुले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए। संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ।

उनले भने, ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन। संसद फेरी विघटन गर्ने कहीँ पनि ठाउँ छैन। त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिड्ने? कहाँनेर कता फस्दै गयौँ हामी? कसले फसाउन खोज्यो? हामीले अहिले चुनावको कुरा होइन, हामीले त यही संसदलाई कसरी उपयोग गर्ने? कसरी यही संसदमा भएका शक्तिहरुलाई समायोजन गरेर हुन्छ अहिले विकल्प दिने हो।’

वरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए। संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell