PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

हनुमानढोका दरबारको ढुकुटीमा के छ? कृष्णको मुकुटदेखि राजराजेश्वरीको गहनासम्म : जाने हो हेर्न?

हनुमानढोका दरबारको ढुकुटीमा के छ? कृष्णको मुकुटदेखि राजराजेश्वरीको गहनासम्म : जाने हो हेर्न?

सहयोग रञ्जित/पहिलोपोस्ट


हनुमानढोका दरबारभित्र रहेको न्हुच्छें चोक र फरास खानाको बिचमा राणाकालीन भवन थियो। २०६८ सालमा कमजोर हुँदै गइरहेको भवन मर्मत गर्ने निर्णय गरियो। सोही वर्ष असार १६ गते जीर्णोद्वार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामाग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा फेला पर्‍यो। सेफमा विभिन्न देवीदेवताको मूर्ति, बहुमूल्य गरगहना, सिक्का इत्यादि भेटियो।

पृथ्वीनारायण शाहले काठमाडौंमा विजय हासिल गरिसकेपछि हनुमानढोका दरबार क्षेत्रलाई नै प्रशासनिक केन्द्र बनाएका थिए। राणाहरुले सत्ता हातमा लिँदा पनि हनुमानढोका नै थियो केन्द्रमा। पछि राजपरिवार नारायणहिटी दरबारमा बसाई सरे। समयको अन्तरालमा हनुमानढोका संग्रहालय बन्यो। जसमा मल्लकालीन, शाहकालीन र राणाकालीन सामाग्रीको प्रदर्शन गरिन्थ्यो। तर, भवन जिर्णोद्वार गर्दा भेटिएका धेरै सामाग्री सर्वसाधरणको लागि प्रदर्शनमा राखिएको थिएन। किनकि संग्राहलयका लागि नै यो नयाँ थियो, भलै भेटिएका सामग्री धेरै पुराना किन नहुन्।

हनुमानढोका दरबार क्षेत्रको थ्री डी मोडल


राजतन्त्र रहुन्जेल दरबारको स्वामित्व राजपरिवारसँगै थियो। राजतन्त्रको अन्त्यपछि भने यो सरकारको स्वामित्वमा आयो। त्यसपछि गृह मन्त्रालयले दरबारसँग सम्बन्धित सामाग्रीहरु हनुमानढोका दरबार हेरचाह अड्डालाई हस्तान्तरण गर्‍यो। यसरी दिइएका धेरै सामाग्री सर्वसाधरणले हेर्न पाएका थिएनन्।

२०७२ सालअघि नै दरबारसँग सम्बन्धित बहुमूल्य गरगहना र अन्य सामाग्री प्रदर्शनी गर्ने तयारी गरिएको थियो। तर, त्यो सम्भव भएको थिएन। भूकम्पका कारण दरबार क्षतिग्रस्त भएसँगै योजनाले पनि विश्राम लियो।

अहिले भने हनुमानढोका दरबार हेरचाह अड्डाले राणाकालीन भवनमा पुरिएर रहेको सामाग्री र गृह मन्त्रालयबाट प्राप्त भएका सामाग्रीहरुको प्रदर्शन गरिरहेको छ दरबार परिसरभित्रै। ढुकुटी भवनमा शाहकालीन गरगहना प्रदर्शनी भइरहेको छ। केही मल्लकालीन सामाग्री पनि प्रदर्शनीमा छ। हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनाल नेपालमा यसरी ऐतिहासिक र पुरातात्त्विक गरगहना सम्भवत पहिलो पटक प्रदर्शनीमा राखिएको बताउँछन्।

शाहकालिन गरगहना


प्रदर्शनीलाई दुई भागमा विभाजन गरिएको छ। पहिलो भागमा गरगहना, सिक्का, बहुमूल्य र ऐतिहासिक सामाग्री छन् भने अर्को भागमा राजाहरुलाई दिइएको उपहार र येँया (इन्द्रजात्रा) सँग सम्बन्धित सामाग्री।

वृत्ताकार छानो एक तले भण्डार भवनमा रहेको प्रदर्शनी कक्षमा छिर्ने बित्तिकै सानो दुईवटा मुकुट देख्न सकिन्छ। एउटा मुकुट सुनको, अर्को चाँदीको। श्री कृष्णलाई चढाउन बनाइएको उक्त मुकुट जसमा ५ थान मणिक जडित छ भने ठूलो र सानो गरी ६० वटा हिरा।

 श्रीकृष्णलाई चढाउन बनाइएको मणिक जडित सुन र चाँदीको मुकुट


शाहकालीन समयमा विभिन्न देवी देवतालाई चढाउन बनाइएका गरगहना लगायतका सामाग्रीहरु पनि प्रदर्शनमा रहेको खनालले बताए।

राजाको राज्यभिषेक र विवाह समारोहमा हात्तीलाई सजाउने गरिन्थ्यो। राजा रानीहरु त्यसैमा सवार हुने गर्थे। हात्तीको टाउकोदेखि शरीरसम्म विभिन्न सामाग्री राखिन्थ्यो। त्यसैमध्ये हात्तीको टाउकोमा राखिने चाँदीको कलशलगायत सामाग्री प्रदर्शनीमा हेर्न पाइन्छ।

राजाको राज्यभिषेक र विवाह समारोहमा प्रयोग हुने गरेका सामाग्रीहरु


गुरुजुको पल्टनले दर्जा अनुसार टोपीमा लगाउने चाँद, शाहीकाल र मल्लकालमा प्रयोग भएका सिक्का, फारसी भाषामा लेखिएका सिक्का, मुगलकालीन सिक्का, मोहरहरु नेपालको समृद्ध इतिहास बुझाउने वस्तुहहरु हुन् जुन हेर्न सकिन्छ।

'यहाँ प्रदर्शनीमा राखिएकामध्ये सबैभन्दा दुर्लभ क्वाइन पनि छ। यसलाई हामी कम्पनी मुद्रा भन्छौं,' खनालले भने, 'यसमा ब्रिटिसको चिन्ह र अरेबिक अक्षर छ। यी सुनका सिक्क निकै महत्वपूर्ण हुन्। एउटै सिक्कलाई काटेर त्यसलाई प्रयोग गर्ने चलनसमेत रहेछ।'

उनले नेपालमा आर्थिक संकट हुँदा सिक्का काटेर पनि चलाउने प्रचलन रहेको सुनाए।

प्रदर्शनी अहिले पुनर्निर्माण गरी प्रयोगमा ल्याइएको भवनमा भइरहेको हो।

कम्पनी क्वाइन : एउटै सिक्कालाई दुई टुक्रा गरेर प्रयोगमा ल्याइएको मुद्रा


'नेपालमा मल्लकालमा मुद्राहरु प्रचलनम आए। जब आर्थिक संकट भयो त्यसलाई दुईवटा बनाएर प्रयोग गरेको हामीले पाउँछौं,' उनले भने।

प्रदर्शनीमा 'हातमा राखेर फु गर्दा उड्ने' फुक्का दाम, चुन दामसमेत राखिएका छन्। साथै जयप्रकाश मल्लले प्रयोगमा ल्याएका अरबी भाषामा लेखिएका सिक्काहरु पनि।

प्रदर्शनीमा शितलादेवीको मूर्ति पनि छ। नेपालमा विफर रोग उत्कर्षमा रहँदा शितला देवीकै पूजा गर्ने गरिएको ऐतिहासिक कथन छ। हालसम्म कुनै मन्दिरमा स्थापना नगरिएको मूर्ति र अन्य वस्तुसमेत ढुकुटी भवनमा थियो।

चाँदीले बनाइएको सितलादेवीको मूर्ति 


त्यहाँ राखिएका विभिन्न देवताहरुलाई चढाउने गरेको माला विभिन्न आकृतिका रहेको उनले बताए। तुलसी माला, वेलपत्र माला, कमल माला लगायतका मालाहरु देवीदेवतालाई चढाउने गरिन्थ्यो।

खनालले प्रदर्शनीमा झुण्डाइएका तस्विरहरु देखाउँदै भने, 'यी सामाग्री मूल ढुकुटीमा थिए जुन अहिलेसम्म सर्वसाधरणका लागि प्रदर्शनमा ल्याइएको थिएन। अहिले यसको बारेमा पनि जानकारी होस् भन्दै हामीले तस्विर राखेका हौं।'

मल्लकालमै राज्यको सम्पत्ति राख्न दरबार क्षेत्रमा धुकू (ढुकुटी) बनाइएको थियो। पछि जंगबहादुर राणाले त ढुकुटी भवन नै निर्माण गर्न लगाएका थिए। हाल प्रदर्शनी भइरहेको भवन कमजोर भएपछि चन्द्र शमशेरको पालमा नयाँ ढुकुटी भवन बनाइएको थियो। अहिले सो भवनलाई मूल ढुकुटीका रुपमा प्रयोग गर्दै सामाग्रीहरु राखिएको छ।

मल्लकाल र शाहकालमा प्रयोग भएका नापतौलका सामाग्रीहरु


मल्लकाल र शाहकालमा प्रयोग भएका नापतौलका सामाग्रीहरु पनि हेर्न पाइन्छ अहिले। ती सामग्रीहरुले मल्लकालदेखि नै काठमाडौं सम्पन्न थियो भन्ने पुष्टि गर्ने खनालको भनाइ छ। तिब्बतबाट सुन ल्याउने र यहाँबाट गरगहना, मूर्ति र सिक्का बनाएर उता पठाउने चलन थियो। त्यतिखेर तिब्बतबाट सुन ल्याउँदा पनि कर उठाउने र यहाँबाट लैजाँदा पनि कर उठाउने गरिन्थ्यो। त्यतिखेर यहाँ प्रयोगमा ल्याइएका एक तोलादेखि ५० तोलासम्मका नापतौलका सामाग्रीहरु प्रदर्शनीमा छ। यस्तै शाहकालीन समयमा प्रयोग भएका नापतौलका सामाग्री पनि राखिएको छ।  

प्रदर्शनीमा रणबहादुर शाहकी जेठी रानी महारानी राजराजेश्वरी देवीले सति जाँदा चढाएको गरगहना पनि हेर्न पाइन्छ। प्रदर्शनीमा राखिएका सामाग्रीहरु मध्ये यसलाई विशेष महत्वका सामाग्रीका रुपमा व्याख्या गर्छन् खनाल। 'सति जाँदा देवी देवतालाई गरगहना चढाएर जाने भन्ने कथन छ यद्यपि त्यसको लिखित प्रमाण छैन। यो गरगहनाको अभिलेखमा जेठी रानी राजराजेश्वरीले सति जाने बेलामा चढाएर गएको भन्ने उल्लेख छ,' उनले भने।

शाहकालिन गरगहना


यस्तै, जनकपुरको लक्षमेश्वर महादेवलाई चढाउन बनाइएका सामाग्री, विभिन्न भाडाहरु, सुन चाँदीका थाल, जगेडा चाँदीबाट १९९० मा बनाइएको थाल, सुनचाँदीका गरगहना, राजा त्रिभुवनलाई डोक्सा कम्पनीले दिएको घडी, राजाहरुलाई उपहार स्वरुप दिइएको पाटन दरबार, पशुपतिनाथ मन्दिर, काष्ठमण्डप लगायतका आकृति समेत सर्वसाधरणले हेर्न पाउँछन्।

भूकम्पले काष्ठमण्डप भत्किएपछि पुर्ननिर्माणको क्रममा थाममुनि राखिएक सुनका सिक्का, काष्ठमण्डपमा प्रयोग भएका काठ, काष्ठमण्डपमा रहेको हाथु द्य: लाईसमेत प्रदर्शनीमा समावेश गरिएको छ।

प्रदर्शनी कक्षमा घुम्न आउनेहरुका लागि अडियो भिडियो कक्षको समेत छ। त्यहाँ आगन्तुकहरुले दरबार र प्रदर्शित सामाग्रीहरुको बारेमा जानकारी पाउन सक्नेछन्।

साथै, इन्द्रजात्रासँग सम्बन्धित तस्विरसहितको जानकारी प्रदर्शनी कक्षमा राखिएको छ। खनालले आउने दिनमा हनुमानढोका दरबार क्षेत्र भित्र हुने अन्य जात्रा पर्वको तस्विरसहितको जानकारी पनि थपिने बताए।  

दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणको काम हाल भइरहेकोले प्रदर्शनीका लागि ग्यालेरीहरु तयार हुन सकेका छैनन्। त्यसैले अर्को व्यवस्था नहुँदासम्म यही ढुकुटी भवनमा नै प्रदर्शनलाई निरन्तरता दिइने खनालले बताए।

हाथुद्य: बारे जानकारी दिँदै कार्यकारी निर्देशक सन्दिप खनाल


हाल भवनमा बहुमूल्य गरगहना र पुरातात्विक महत्वका सामाग्री राखिएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ। ढुकुटी भवन आफैँमा सुरक्षित रहेको भन्दै खनालले सीसी क्यामेराबाट २४ घण्टा नै सेनाले निगरानी राखेको जानकारी दिए। सैनिक गुल्म नै छ यहाँ। प्रदर्शित सामाग्रीहरु लाल छाप र शिल राखेर राखिएको छ। हरेकदिन लालछाप 'चेक' गरेर सामानबारे लेखाजोखा हुने गरेको छ।

'पहिलाका धेरै प्रविधि, सीप अहिले लोप भएर गइसके। ती प्रविधिहरुलाई पुनर्जागृत हुने अवसर मिल्छ कि भन्ने अपेक्षा सहित यो गरिएको हो,' खनालले भने, 'अहिलेसम्म भण्डार गृहमा थन्किएर रहेका गरगहनाबारे धेरैलाई चासो थियो। यस प्रदर्शनीबाट अनुसन्धानकर्ता, विद्यार्थी लगायतलाई नयाँ पाटो फेला भन्ने विश्वास गरेका छौं।'



ट्रेन्डिङ पोस्ट

Ncell