स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोली सेल्टा भिगोमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।
मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गर्दा मार्को एसेन्सियोले अर्को गोल थपे। उता घरेलु टोलीका लागि सन्टी मिन लोरेन्जोले सान्त्वना गोल फर्काए।
खेलको २० औं मिनेटमा टोनी क्रुसको पासमा मड्रिड अग्रता दिलाएका बेन्जेमाले ३० औं मिनेटमा पनि क्रुसकै पासमा गोल थपे। त्यस्तै उता घरेलु टोलीकाक लोरेन्जोले ४० औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा मड्रिड २-१ ले अघि रह्यो। मड्रिडका लागि तेस्रो गोल एसेन्सियोले अतिरिक्त समयमा गरे। उनले बेन्जेमाको पासमा गोल गर्दा मड्रिडले ३-१ को सहज जित निकालेको हो।
त्यस्तै गएराति नै सम्पन्न अन्य खेलहरुमा रियल भल्लाडोलिड र सेभिया १-१ को बराबरीमा रोकिँदा एथ्लेटिक बिल्बाओ र आइबर पनि १-१ कै बराबरीमा रोकिए।
जितसँगै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदुरी घटाएको छ। एट्लेटिकोले २७ खेलबाट ६३ अंक जोडेको छ भने रियलले २८ खेलबाट ६० अंक जोडेको छ। त्यस्तै २७ खेलबाट ५९ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ।
