PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

४० वर्षपछि नेपाली भूमि टेके दुर्गाप्रसादले : आफन्तलाई भेट्दा टाउको हल्लाएर इसारा



पहिलोपोस्ट

४० वर्षपछि नेपाली भूमि टेके दुर्गाप्रसादले : आफन्तलाई भेट्दा टाउको हल्लाएर इसारा

काठमाडौं : हत्या आरोपमा भारतको कोलकाताको कारागारमा ४० वर्षदेखि रहेका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्किएका छन्।

झापाको काकारभिट्टा नाका हुँदै उनी नेपाल प्रवेश गरेका हुन्। नेपाल छिरे लगत्तै उनले काकालाई भेटेका छन्। शारीरिक तथा मानसिक रुपमा अस्वस्थ्य रहेका दुर्गाले काका तुलसी तिमिल्सिनालाई चिनेको संकेत गर्दै टाउको हल्लाएका थिए।

'काकाले केही कुरा गर्नु भयो। दाइले टाउको हल्लाउनु भएको थियो। उहाँ बोल्नुहुन्न टाउको हल्लाएर मात्र संकेत गर्नु हुन्छ, दुर्गाका' भाइ प्रकाश तिमिल्सिनाले भने।

इलामबाट ४ दशक अघि दार्जिलिङ पुगेका उनी हत्या आरोपमा पक्राउ परेका थिए। भारतीय सेनामा जागिर दिलाउने भन्दै उनलाई एक व्यक्तिले पश्चिम बंगालको दार्जिलिङ बोलाएका थिए। तिनै व्यक्तिले उनलाई हत्या गर्न लगाएको प्रहरी रिपोर्टमा उल्लेख छ।

बुधवार कोलकाता जिल्ला अदालतका न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायधीश अनिरुध रोयको इजलासले उनलाई जेलमा राख्ने कुनै कारण नभएको भन्दै रिहा गर्न आदेश दिएका हुन्। अदालतले दुर्गाप्रसादलाई उनको आफन्त प्रकाश तिम्सिनाको जिम्मा लगाउन समेत भनेको थियो। अदालतले चाहेको समयमा दुर्गाप्रसादलाई अदालतमा उपस्थित गराउने शर्तमा अदालतले उनलाई नेपाल पठाउन स्वीकृति दिएको थियो। प्रत्येक ६ महिनामा उनको मानसिक अवस्था बारेमा जानकारी गराउन समेत अदालतले भनेको छ। उनीविरुद्ध लागेको मुद्दाको फैसला भइसकेको छैन। उनलाई सुनुवाई बिनै कारागारमा राखिएको थियो।

शनिवार रिहा भएपछि उनी भाइसँगै नेपाल आएका हुन्। उनी आज नै इलाम आमालाई भेट्न जाँदैछन्। 'आज नै आमालाई भेट्नुहुन्छ। त्यसपछि स्वास्थ्य चेक गर्ने तयारी गरेका छौं,' भाइ प्रकाशले सुनाए।

दुर्गाप्रसादलाई कोलकाताको दमदम कारागारमा रहँदा उनको मानसिक अवस्था कमजोर बन्दै गएको थियो। कारागारमा रहेका एक कैदीले उनको विषयलाई बाहिरियाएपछि दुर्गाप्रसादको अवस्थाका बारेमा आफ्ना साथीहरुलाई सुनाएका थिए। त्यही कुरा कोलकाताको ह्याम रेडियाका अपरेटरहरुसम्म पुग्यो। उनीहरुले नेपाल रेडियो क्लबका सदस्याहरुलाई सम्पर्क गरे र दुर्गाप्रसादको आमा मनोमाया देवीसम्म पुगे।

त्यसपछि मात्रै उनको अवस्‍था सार्वजनिक भएको थियो। त्यसपछि दीपक जैसी समेत भनिने ७० वर्षीय दुर्गाप्रसादको अवस्थाबारे आफन्तहरुले नेपाल सरकार र भारतस्थित नेपाली दूतावासलाई जानकारी दिएका थिए।

दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे समाचार प्रकाशित भएपछि कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशले वकिलहरुलाई अदालतमा निवेदन प्रस्तुत गर्न भनेका थिए। यही वर्षको सुरुवातमा दुर्गाप्रसादको रिहाइ र नेपाल फिर्ता गराउन माग गर्दै अदालतमा निवेदन प्रस्तुत गरिएको थियो। त्यही निवेदनमाथि सुनुवाइ गर्दै दुर्गाप्रसादलाई रिहा गर्न अदालतले आदेश दिएको हो।

पश्चिम बंगालका 'स्टेट लिगल अथोरिटी' अधिवक्ता जयन्त नारायण च्याटर्जीका अनुसार हाल दुर्गाप्रसादको मानसिक अवस्था निकै कमजोर भइसेकेको र नेपालको बारेमा उनलाई केही याद नभएको जनाएका छन्।

'उहाँ भारत बसेको धेरै वर्ष भइसकेको छ। नेपाली बोल्न धेरै मुस्किल छ। हिन्दी बंगाली भाषामा बोल्नुहुन्छ। अन्य यादको कुरा त के गर्न?,' भाइ प्रकाशले भने।

युनिभर्सिटी अफ कोलकाताका मनोवैज्ञानिकहरुको विज्ञ टोलीले समेत दुर्गाप्रसादको मानसिक अवस्थाबारे अध्ययन गरेको थियो। उनीहरुले आफ्नो रिपोर्टमा दुर्गाप्रसादको 'आइक्यू लेभल' ९-१० वर्षको बालकको जस्तो रहेको उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell