PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

उपमेयरले बलिङ, मेयरले ब्याटिङ गर्दै सुरु भयो मेयर कप सप्तरी प्रिमियर लिग: उद्घाटन खेलमा रुपनी राइडर्स विजयी



पहिलोपोस्ट

उपमेयरले बलिङ, मेयरले ब्याटिङ गर्दै सुरु भयो मेयर कप सप्तरी प्रिमियर लिग: उद्घाटन खेलमा रुपनी राइडर्स विजयी

काठमाडौं: तेस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिगअन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साइन थन्डर्सलाई १३ रनले पराजित गर्‍यो।

प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिङ  र उपमेयर साधना झाले बलिङबाट भयो।

राज रंगशालामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले पुरै २० ओभर ब्याटिङ गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।

बोदे बर्साइनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन, योगेन्द्र सिंह कार्की र विकास दासले समान १७ रन बनाए।

रुपनी राइडर्सको बलिङमा सुमित झाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिए। अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको रुपनी राइडर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १४७ रन बनाएको थियो।

रुपनीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए। सोही क्रममा ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए।

बोदे बर्साइनको बलिङमा अफस्पिनर बिशाल सुश्लिङले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिङ गर्दै २६ रन खर्चिए। नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए।

लिग अन्तर्गत सोमवार दुई खेल संचालन हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्स तथा दिउँसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किङ्स् राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell