काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन्।
आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन्। आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको भनाइ छ।
उनले भने, ‘हिजो हामीहरु राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौं। हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ। तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला। तर पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरु, ती धङधङीहरु अहिलेपनि देखा पर्छन्। केही समय रहन्छन् अझै। हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ। हिजो हामी को कता थियौँ छोडिदिनुस्। आज के सही हो त्यो महत्वपूर्ण कुरा हो। कुन सत्यले? कुन पार्टीले? कुन नेतृत्वले? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ। अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन। त्यस्तो नेतृत्व चाहिएको छ।’
मन्त्री रायमाझीले नेपालको कृषिलाई सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताए। कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखी चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उनको भनाइ छ।
