PahiloPost

May 15, 2025 | २ जेठ २०८२

गर्भवती युवतीलाई बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ



पूजा पन्थी

गर्भवती युवतीलाई बलात्कारपछि हत्याको प्रयास गरेको अभियोगमा प्रहरी जवान पक्राउ

बुटवल : रुपन्देहीको तिलोत्तमामा एक प्रहरी जवानमाथि बलात्कारपछि हत्याको प्रयास गरेको आरोप लागेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार प्रहरी जवानविरुद्ध तिलोत्तमा-११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कार गरी हत्या प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको छ। नवलपरासी जर्गास्थित जनपथ प्रहरीका प्रहरी जवान सुरेश कठारिया (थारु)लाई घटनामा संलग्न भएको आरोप लागेको हो।

पीडित युवतीको अभिभावकको किटानी जाहेरीका आधारमा प्रहरीले कठारियालाई पक्राउ गरिसकेको छ। कानुन बमोजिम जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा जाहेरी परेको र जाहेरीकै आधारमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका नायव प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

अन्दाजी २२ वर्षे प्रहरी जवान कठारियाले शनिवार बिहान करिब ५ बजेको समयमा युवतीलाई बलात्कार गरी घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको आरोप छ।

प्रहरी नायव उपरीक्षक राठौरले भने, ‘युवतीको घाँटीमा झोलाको फिताले कसेर लतार्दै जंगलमा फ्याँकिएको रहेछ, बेहोस भइसकेपछि युवकले मर्‍यो भन्ने ठानेर त्यसै छोडेर फरार भयो, पछि युवती आफैँ उठेर अचेत अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले उद्धार गरे।’

घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन्। पीडित युवतीलाई रुपन्देहीकै एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

अस्पतालमा रहेकी युवतिकी आमाले छोरीको पेटमा ४ हप्ताको बच्चा रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell