उपल्लो जातकाले पूजापाठ गरिरहेका हुन्छन्। त्यही बेला सुमितले पूजा गरिरहेका मानिसलाई छोइदिन्छन्। जो तल्लो जातका बालक हुन्छन्। तल्लो जातले छोएको भनेर सुमितलाई मृत्युदण्ड दिइन्छ। ती बालकलाई सबै बाह्मणहरुले कुट्न थाल्छन्। यसरी नाटक सुरु हुन्छ।
दृश्य हो नाटक ‘तथागत’ को। हिन्दी भाषाको नाटकमा बुद्धको सरलता र ज्ञानलाई दर्साइएको छ। बुद्धको जीवनशैली र दर्शनसँग सम्बन्धित नाटक ‘तथागत’ आइतबारदेखि काठमाडौँमा बुद्ध थिएटर फेस्टिभल सुरु भएको हो।
नाटकमा रविन्द्रनगर नाट्ययुध भारतको प्रस्तुति रहेको थियो। तर कोभिड-१९ को संक्रमण जोखिमले नाट्य टोली नेपाल आउन पाएन। ४० मिनेट लामो नाटकमा धर्म, वर्ग, जातिबीच हुने विभेद देखाइएको छ ।
नाटकको निर्देशन भारतका डा. डानी कर्माकरले गरेका हुन्।
वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनामा भएको फेस्टिभलको उद्घाटन कलाकार मदनदास श्रेष्ठ, प्रा. डा. अभि सुवेदी र तुलसी दिवसले गरेका थिए।
बुद्धको चिन्तन, दर्शन र मान्यतालाई नाटक तथा कवितामार्फत विश्वभर फैलाउनुपर्ने कवि दिवसले बताए।
फेस्टिभल गत वर्ष नै हुने भनिए पनि कोरोनाका कारण रोकिएको थियो। चैत्र ८ गतेदेखि सञ्चालन भएको फेस्टिभल १४ गतेसम्म चल्नेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ वटा नाटक मञ्चन हुनेछन्।
