नेपालमा बनेको पहिलो फिल्म 'आमा' को छायांकन भइरहेको थियो। पहिलो दिन चोभारको गणेशस्थानमा सुटिङ थियो। हिरो थिए शिवंशकर। भुवन चन्दलाई ‘गरौँला हामी सिर्जना प्रितिको जगतले’ गीतको लागि अभिनय गर्नुपर्ने भयो।
भुवनलाई शिवशंकरसँगै गीतमा नाच्नु पर्ने थियो। किनकि फिल्मको हिरोइन उनै थिइन्। 'पहिला अलि अलि हिन्दी फिल्म हेर्ने भएकाले हिरोसँग हिरोइनले नाच्छन् भन्ने थाहा थियो,' उनले सुनाइन्, ‘लिड रोल पाएको थाहा पाएपछि म निकै खुसी भएकी थिएँ।’
१५ वर्षीया भुवनको आकांक्षा पूरा भयो। पहिलो फिल्म आमाकी नायिका हुने अवसर पाएर।
फिल्मका नायक शिवशंकर भुवनका बुवाका साथी थिए। शिवशंकर र उनका बुवा भैरवबहादुरले रेडियो नेपालमा सँगै काम गरेका थिए। मिल्ने साथी भएकाले उनीहरू एकअर्काको घरमा आउजाउ गर्थे। भुवन कहिले काही शिवशंकरको हात समातेर रेडियो नेपाल पुगेको सम्झन्छिन्।
‘फिल्मको दुनियाँ र वास्तविक जीवनमा आकाश–जमिनको अन्तर हुन्छ’ भनेजस्तै भयो भुवनलाई पनि। वास्तविक जीवनमा बुवाका साथी रहेकासँग पर्दामा जोडी बाँधिन्। त्यहीँबाट सुरु भयो उनको अभिनय यात्रा।
काठमाडौँको धोवीचौरमा उस्ताद भैरवबहादुर र गुजेश्वरीको एकल सन्तानका रुपमा जन्मिएकी थिइन् भुवन। बुवा कला क्षेत्रमै भएकाले यस क्षेत्रका हस्तीहरुसँगको संगत उनका लागि सहज भयो। र, उनले पनि कलाक्षेत्रमै आफ्नो करिअर बनाइन्।
‘अन्धवेग’ बाट उज्यालो यात्रा
२०१० साल। नाटककार बालकृष्ण समको नाटक ‘अन्धवेग’ मञ्चन हुने भयो। नाटकका बालकलाकार चाहिने भयो। भुवनका बुबा भैरवबहादुर थापा गायक भएकाले नाटककार बालकृष्ण समसँग राम्रो सम्बन्ध थियो। समद्वारा लिखित नाटक ‘अन्धवेग’ मा छोरीको भूमिका खेल्ने कलाकारको आवश्यकता रहेको जानकारी पाए। भैरवले आफ्नी छोरी सम्झिहाले। कला क्षेत्र भने पछि हुरुक्कै हुने भैरवले आफ्नी ५ बर्षीया छोरीलाई नाटकमा बालकलाकारको भूमिका दिन आग्रह गरे।
नाटक ‘अन्धवेग’मार्फत् बाल कलाकारको रुपमा अभिनयमा डेब्यु गरिन् भुवनले। त्यसको दुई वर्षपछि, अर्थात् २०१२ सालदेखि उनी ‘कला केन्द्र’मा समेत आवद्ध भइन्। फाइदा के भयो भने, नयाँ नाटक बन्ने भएपछि अवसर भुवनले नै पाउन थालिन्। करिव २ दर्जन नाटकमा काम गरेको बताउँछिन् उनी। जसमध्ये 'क्रसमा टाँगिएको जिन्दगी' र 'मसान' उनलाई असाध्यै मन परेका नाटक हुन्।
उनको कला यात्रा नाटकमा मात्र सीमित रहेन। संगीत क्षेत्रमा पनि संलग्न भइन्। भुवनका अनुसार उनले रेडियो नेपालमा १५ वटा गीत गाएकी छन्, यसैगरी रेडियो नेपाल बाहेकका झण्डै ३ दर्जन गीतमा स्वर पनि दिएकी छन्।
जसमा लक्ष्मीप्रसाद देवकोटाले लेखेको भजन ‘संसार रुपि सुख स्वर्गभित्र’ र चेतन कार्कीको ‘दाइलाई बोलाऊ भने लेक स्वर पुग्दैन’ भन्ने गीतहरु चर्चित छन्। यो गीत उनले तारादेवीसँग गाउने मौका पाएकी थिइन्।
‘बुबा आफै गायक हुनु भएकाले उहाँ म पनि गायिका नै बनोस् भन्ने चाहनुहुन्थ्यो,’ आफ्नो कला–करिअरमा बुवाको भूमिका स्मरण गर्दै उनले भनिन्, ‘पहिले पहिले गीत गाए पनि गायनमा निरन्तरता दिन सकिनँ।’
पछि त उनी फिल्मको पर्दामा समेत छाउन थालिहालिन्।
नाचघरको जागिरे जीवन
किशोर उमेरमै नाच, अभिनय र गायन– तीनै विधामा पोख्त भइन् भुवन। राष्ट्रिय नाचघरको स्थापना भर्खरै भएको थियो। कला क्षेत्रमा बहुमुखी प्रतिभाका कारण २०१८ मा नाचघरमा उनले प्रवेश पाइन्, कलाकारको रुपमा। सुरुवाती तलब थियो, १ सय ५० रुपैयाँ। २०६२ सालमा उनले ‘सेकेन्ड क्लास अफिसर’का रुपमा नाचघरबाट अवकाश पाइन्।
नाचघरमा भुवनबाहेक अन्य महिला कलाकारहरु पनि थिए। तिनमा चैत्यदेवी, बिमला श्रेष्ठ, सौभाग्यवती, गंगा राना र कोकिल गुरुङलगायत थिए।
‘सीमित कलाकार थियौँ, त्यसैले निकै धेरै काम गर्नुपर्थ्यो,’ उनले सम्झिन्, ‘नाच्नेदेखि नाटकमा अभिनयसमेत गर्नुपर्थ्यो।’
नातावाद–कृपावादको रोग उतिबेला पनि थियो, त्यो रोगले नाचघरलाई पनि गाँजेको बताउँछिन् उनी। नाचघरमा हुने कार्यक्रममा क्षमताका आधारमा भन्दा ‘आफ्नो मान्छे’ लाई अवसर दिइन्थ्यो। ‘यही रोगका कारण मैले २-३ पटक स्टेजमा काम गर्न पाइनँ,’ उनले भनिन्, ‘तर राजाले नै मेरो खोजी गरेपछि उनीहरु मलाई भूमिका दिन बाध्य भए।’
उनले राजा महेन्द्रले आफ्नो खोजी गरेको प्रसङ्ग सुनाइन्।
राजा महेन्द्र कलाप्रेमी थिए। नाचघरमा प्रदर्शन गरिने नाटक समय मिलाएर हेर्न आउँथे। रानी रत्न र परिवारका अन्य सदस्य लिएर। भुवनले निर्वाह गर्ने भूमिका राजा महेन्द्रले ख्याल गर्दा रहेछन्। एक पटक नाचघरमा प्रदर्शनरत् नाटकमा भुवनलाई देखेनन्।
कुशल अभिनय गर्ने भुवन गइन् कता होला? राजा महेन्द्रलाई खुल्दुली लागेछ। नाटकघरका इञ्चार्ज थिए, यमबहादुर केसी। उनैसँग महेन्द्रले भुवनबारे सोधेछन्।
यो कुरा यमबहादुरले सुनाए, ‘भुवन, तेरो त राजाले नाम लिए नि।’
‘के भनिबक्स्यो?’ भुवनले तत्कालै सोधिन्।
‘खोइ, आजकाल भुवन नाटकमा देखिन्नन् नि, कहाँ गएकी छन्?’ राजाले सोधेका रहेछन्।
भुवनलाई आफ्नो अभिनय क्षमताबारे केही गर्विलो महसुस भयो।
उक्त घटनापछि नाटकहरूमा भूमिका पाउन गाह्रो भएन उनलाई। ‘त्यसको दुई–तीन दिनपछि नै मलाई बोलाएर म्युजिकल नाटक ‘भृकुटी’मा राजकुमारी ‘भुकुटी’ को भूमिका दिइयो', उनले सुनाइन्।
त्यो अवसर
२०२० सालसम्म केही डकुमेन्ट्री निर्माण भएपनि कुनै फिल्म बनेका थिएनन्। यस्तैमा तत्कालिन सूचना मन्त्रालयले नेपाली फिल्म बनाउने निर्णय गर्यो। दरबारको आदेशमा।
फिल्म निर्माणका लागि कलकत्ताबाट बोलाइए हीरासिँह खत्री। राजा महेन्द्रले उनलाई नेपाली चलचित्र बनाउन अनुरोध गरेका थिए। राजाको अनुरोध बमोजिम उनी नेपाली चलचित्र बनाउने गरी कलाकार खोज्न काठमाडौँ आए।
महिलाले कलाकार बन्नु निकै कठिन काम थियो त्यतिबेला। कलाकारलाई निकै हेय दृष्टिले हेरिन्थ्यो। त्यसैले, महिला कलाकार पाउनु गाह्रै काम थियो। तर त्यसअघि नै कलाकारका रुपमा नाचघरसँग आवद्ध भुवनले फिल्मबारे जानकारी पाइन्। चैत्यादेवी सिंह र विमला श्रेष्ठपनि सँगै थिए। सबै दङ्ग परे।
उनीहरूलाई नाचघरबाटै 'अडिसन'का लागि पठाइयो। अडिसन दिए। अन्तर्वार्ता दिए, क्यामेरा टेस्ट गरियो। भुवनले सम्झन्छिन्, ‘हिरासिंह खत्रीले नै हाम्रो अन्तर्वार्ता लिनुभएको थियो। पहिलेदेखि नै राष्ट्रिय नाचघरमा काम गर्ने भएर डर लागेन।’
फिल्ममा अभिनय गर्न पाउने–नपाउने यकिन थिएन। जागिर छँदै थियो। उनी नाचघरमै व्यस्त भइन्।
विभिन्न कार्यक्रमको सिलसिलामा राजा महेन्द्र देशवाहिर गइरहन्थे। राजा पुग्ने कार्यक्रममा सांस्कृतिक कार्यक्रम हुन्थे। त्यसका लागि राजधानीबाटै कलाकारहरुलाई लग्ने गरिन्थ्यो। एकपटक राजा महेन्द्र जनकपुर चुरोट कारखानाको उद्घाटन गर्न जाने भए। भुवनलगायत नाचघरका अन्य पनि जनकपुर पुगे। त्यहाँ फिल्म बनाउने जिम्मा पाएका हीरासिंह खत्री पनि आएका रहेछन्।
दरवारका फोटोग्राफर मंगल मोहन श्रेष्ठले भुवनहरूलाई चिन्थे। श्रेष्ठले खत्रीले भारतीय फोटोग्राफरसँग गरेको कुराकानीबारे भुवनलाई सुनाए - खत्री यी तिनओटा केटीहरू अन्तर्वार्तामा आएका थिए। यीमध्ये क्यामेराका लागि कुन चाहिँ उपयुक्त होलान्?’
इण्डियन क्यामेराम्यान 'जो छोटी लडकी है पिछेवाली। क्यामेराके लिए यसको फेस अच्छी है।'
त्यो संवादबारे सुनेपछि भुवनमा फिल्ममा अभिनय गर्ने अवसरको आशा पलायो।
नभन्दै काठमाडौं फर्किएको केही समयपछि उनलाई निर्देशकले डाँक्न पठाए। पहिलो दिन उनको मुहारमा ‘मेकअप’ सुहाउँछ कि सुहाउँदैन? जाँच गरियो। उनीसँगै चैत्यदेवी र विमला पनि कलाकारका रुपमा छनोट भएका थिए।
फिल्म खेल्ने त भइन्, तर कुन भूमिकामा भन्ने कुरा उनलाई थाहा थिएन। तीन-चार दिनपछि फोन आयो, ‘फलानो दिन सुटिङमा जानुपर्छ है’ भन्दै।
अहिलेजस्तो अभिनय सिकाउने संस्थाहरु थिएनन् उतिबेला। निर्देशकले जे सिकायो त्यही गर्नुपर्थ्यो। फिल्मका केही दृष्यको सुटिङ नेपालमै भयो भने केही दृष्य कलकत्तामा। यसक्रममा भुवनले पनि कलकत्ता जाने अवसर पाइन्। ‘पहिले फिल्म कसरी सुटिङ गरिने रहेछ भन्ने निकै चासो थियो, आमा फिल्ममा अभिनय गरेपछि भने मैले धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भनिन्।
आमा फिल्ममा उनको नाम सानु थियो। जसको कथा पञ्चायती व्यवस्थाको पक्षमा थियो। पञ्चायत आएपछि के हुन्छ, गाउँगाउँमा कसरी विकास हुन्छ, गाउँ फर्क भन्ने सन्देश दिन खोजिएको छ।
पहिले पहिले उनी हिमालमा मान्छे दौडिएको, हिरोले अग्लोअग्लो ठाउँबाट हाम फालेको देख्दा छक्क पर्थिन्। फिल्मको कलाकार भएपछि सबै थाहा पाइन्। ‘कसरी लिपलाई गीतसँगै मिलाउनुपर्ने रहेछ, कसरी रुने र समग्रमा कसरी कल्पनालाई रियालिटीमा देखाउने? भन्ने सिक्न पाएँ।’
‘आमा’ २०२२ सालमा प्रदर्शनमा आयो। तर भुवन त्यो बेला नेपालमा थिइनन्। सरकारको तर्फबाट ‘कल्चरल रिलेसन’ अन्तर्गत कार्यक्रमका लागि चीन पुगेकी थिइन्।
जब उताबाट फर्किन्, राजा महेन्द्रले आफ्नो प्रसंशा गरेको सुनिन्। राजाले भनेका रहेछन्, ‘हाम्री भुवन भारतीय नायिकाभन्दा कम रहिनछिन्।’
त्यसै साल राजा महेन्द्रको जन्मोत्सवमा भुवनलाई पनि दरबारमा निम्तो दिइएको थियो। त्यहाँ उनलाई ‘महेन्द्र रत्न पदक’ आभुषित गरियो। साथै, राजाबाट ४ हजार रुपैयाँ बक्सिस दिइएको थियो।
आमा चलचित्रमा उनले गरेको अभिनयको राजधानीमा निकै ठूलो चर्चा भयो। हीरासिंह खत्रीकै निर्देशनमा २०२३ मा बनेको ‘हिजो, आज र भोलि’ मा पनि अभिनय गर्ने अवसर पाइन्। यो फिल्म २०२४ मा प्रदर्शनमा आयो। अभिनय गरेवापत उनले ४ हजार रुपैयाँ पारिश्रमिक पाएकी थिइन्।
बुबाले अर्को बिहे गरेकाले उनको काँधमा आमासहितको पारिवारिक दायित्व थियो। कोठाभाडा २५ रुपैयाँ थियो। उनीहरुसँग अन्य तीन–चारजना आफन्तपनि बस्थे। भुवनको जागिरबाट घरभाडा तिर्नेदेखि लिएर अन्य खर्च धान्नुपर्थ्यो
'हिजो, आज र भोलि’ पछि उनको फिल्म यात्रा लामो समयका लागि रोकियो। यसका दुई कारण थिए। एक त त्यो समय वर्षमा २-४ वटामात्र फिल्म बन्थे। सबै फिल्ममा आफ्नै ‘लिड रोल’ भएको उनलाई मन पनि पर्दैनथ्यो। दोस्रो कारण नाचघरको जागिरे भएकाले त्यहीँ व्यस्त हुनुपर्थ्यो।
‘१०–५ बजेसम्म नाचघरमा काम गर्ने मान्छे, फिल्म खेल्ने हो भने त्यतै धेरै समय दिनुपर्थ्यो। यस्तोमा कि जागिर छोड्नु पर्यो, मेरा लागि जागिर छाड्नु सम्भव थिएन,’ उनले सुनाइन्, ‘फेरि मेरो करियर शुरु भएको फिल्मबाट होइन, रंगमञ्चबाट हो। त्यसैले मैले फिल्मको साटो रंगमञ्चमै समय दिने निर्णय गरेँ।’
श्रीमानको साथ
‘फिल्म करियर’ जत्तिकै रोचक छ, उत्तिकै रोचक छ– भुवन र उनका पति माइकल (हरिश) चन्दबीचको प्रेम सम्बन्ध पनि।
भुवन राष्ट्रिय नाचघरमा कलाकारको रूपमा काम गर्थिन्। माइकल, अङ्ग्रेजीमा उद्घोणकर्ताका रुपमा राष्ट्रिय नाचघरमै जागिरे थिए। उनीहरूको भेट त्यही भएको हो। राष्ट्रिय नाचघरबाहेक माइकल रेडियो नेपालमा पनि अंग्रेजी समाचार बाचक थिए।
माइकल सरल स्वभावका थिए। लप्पनछप्पन केही नजान्ने। आफ्नो काममा मात्रै ध्यान दिने स्वभावका।
‘हाम्रो भेट अफिसमै हुन्थ्यो। एकछिन कतै बसेर चिया पिउँथ्यौँ,’ भुवनले पुराना दिन सम्झिन् ‘त्यसै क्रममा थाहै नपाई हामी एकले अर्कोलाई मन पराउन थालेछौँ।’
दुइबीचको प्रेम मौलायो तर बिहेको टुङ्गो लागेको थिएन। त्यसैबीचमा माइकल ३ वर्षका लागि जर्मनी जाने भए।
माइकल जर्मनी उड्नुअघि नै दुबैले आआफ्नो घरपरिवारसँग कुरा गरे। परिवारमा उनीहरूको सम्बन्ध स्वीकारियो। यसरी दुई बर्ष लामो प्रेम सम्बन्धलाई २०३३ मा उनीहरुले वैवाहिक सम्बन्धमा परिणत गरे।
विवाह भएको भोलिपल्टै श्रीमान् माइकल जर्मन उडे भने भुवन कामकै सिलसिलामा मस्को लागिन्। एक महिना मस्कोमा बिताएर भुवन पनि जर्मनी गइन्। र, नाचघरमा बिदा लिएर दुई वर्ष माइकलसँग जर्मनीमा बिताइन्। जर्मनीबाट फर्केपछि उनले अभिनय गरेका तुलसी घिमिरेद्वारा निर्मित कोशेली र दुई थोपा आँसु उल्लेखनीय छन्।
माइकल भुवनसँग जोडिएका वस्तुको पनि ख्याल गर्छन्। अहिले पनि पत्रकारहरूले भुवनसँग कुराकानी गरिरहन्छन्, अन्तर्वार्ता लिइरहन्छन्। ‘कुन पत्रिकामा के छापियो, के निस्किक्यो भन्ने मलाई केही वास्ता हुँदैन,’ उनले भनिन्, ‘तर, श्रीमानले मेरो कुनै अन्तर्वार्ता वा समाचार छापिएको भेट्नुभयो भने त्यसलाई ‘फाइलिङ’ गरिहाल्नुहुन्छ।’
दुई वर्षअघि साउनमा ‘साइनो’ फिल्म रिलिज भयो, जसको एक निर्माता भुवन आफै हुन्। जब भुवनले फिल्म निर्माणका लागि लगानीको इच्छा प्रकट गरिन्, माइकलले रोकेनन्, बरु खुसीँ हुँदै आँट दिए। ‘जीवनमा जति आर्थिक उपार्जन भयो, त्यो सबै मैले मात्र कमाएको होइन,’ उनले थपिन्, ‘फिल्म बनाउने तिम्रो इच्छा छ भने म पैसा दिन्छु भन्नुभयो। उहाँको यस्तो माया र साथ नभएको भए यो उचाइ प्राप्त गर्ने थिइनँ।’