काठमाडौं : पछिल्लो समय ठगी गर्नेले नयाँनयाँ शैली अपनाउन थालेका छन्। केही दिनमा नै मोटोपन घटाउने 'ग्रिन कफी' भन्दै लाखौं रुपैयाँ ठगी गर्ने समूह मात्र होइन, विभिन्न उच्च पदस्थ व्यक्तिको परिचय देखाएर ठगी गर्ने गरेको खुलेको छन्। त्यस्तैखाले एक अर्को घटना फेरि सतहमा आएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले नक्कली सहायक प्रमुख जिल्ला अधिकारी भन्दै ठगी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। जाजरकोट छेडागाउँ नगरपालिका बस्ने २८ वर्षीय दीपक बीसीलाई नियन्त्रणमा लिएको हो।
दीपकले आफू सहायक सीडीओ भएको भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। गृह मन्त्रालयमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट उनले ५ लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ। त्यस्तै एक पुरुष र एकमहिलालाई सहायक महिला विकास निरीक्षण र महिला तथा बालबालिका निरीक्षण कार्यालयमा नासु पदमा जागिर लगाइदिने भन्दै पाँच लाख लिएको खुलेको प्रहरीले जानकारी दिएको छ।
त्यतिमात्र होइन उनले आफूलाई सहायक सीडीओ भएको विश्वास दिलाउन फेसबुकमा सरकारी नम्बर प्लेट भएको गाडीमा फोटो खिचेको र कार्यरत गृह मन्त्रालय समेत लेख्ने गरेको पाइएको छ। उनी यसअघि पनि ठगी अभियोगमा नै समातिएका थिए। २०७३ जेठ ४ गते दैलेखबाट सहायक सीडीओ भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक मुद्दा समेत चलाइएको थियो। उनको साथबाट प्रहरीले हुम्ला नागुनाथ गाउँपालिका तुम्लिखाको दीपक बुढा क्षेत्रीको नामको प्रमुख प्रशासकीय अधिकृत पदको परिचयपत्र समेत बरामद गरेको जानकारी दिएको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीले पनि नेपाली सेनाको सहायक सेनानी बनेर हिँड्ने एक जनालाई पक्राउ गरेको छ। पोखराको निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरी शङ्कास्पद गतिविधि गरेपछि मुस्ताङ थासाङ गाउँपालिका १८ वर्षीय तेन्जिङ तो गुरुङ भनिने विपिन लगुन विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाली सेनाको सहायक सेनानीको दर्ज्यानी चिन्हसहित पोशाक (चुस्ता), बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचयपत्र र नक्कली वाकिटकी रेडियो सेट समेत प्रहरीले बरामद गरेको छ।
