PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ओलीले थमाए स्पष्टीकरण पत्र : कारबाही भए काउन्टर के? माधव नेपाल समूह जुट्यो छलफलमा



प्रकाश भण्डारी

ओलीले थमाए स्पष्टीकरण पत्र : कारबाही भए काउन्टर के? माधव नेपाल समूह जुट्यो छलफलमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित ४ जना नेतालाई स्पष्टिकरण सोधिएको पत्र बुझाएको छ।

महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टिकरणको पत्र पार्टी कार्यालय धुम्बाराहीका कर्मचारीले स्वकीय सचिवहरु मार्फत् वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्यहरु - भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्र बुझाएका हुन्।

पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले ३ दिनभित्र जवाफ पेश गर्न पत्र पठाइएको जानकारी दिए। 'तीन दिनको समय दिएर पत्र स्वकीय सचिवलाई बुझाएका छौं,' रिजालले भने।

ओली समूहको ७ गतेको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका ४ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। सुरुमा ४ जना नेता सहित नेत्री रामकुमारी झाक्रीलाई पनि स्पष्टिकरण सोध्ने निर्णय भए पनि ओलीले झाँक्रिलाई सोध्नु आवश्यक नभएको बताए पछि निर्णय फेरिएको थियो।

सो निर्णय भएको दुई दिनपछि स्पष्टिकरणको पत्र थमाइएको हो।

आफूलाई कारवाही गर्ने ओलीसँग नैतिक हैसित नभएको दाबी गरिरहेका नेपाल समूहका नेताहरु भने ओलीले कारवाहीको तयारी थालेपछि त्यसको काउन्टरमा के गर्ने भन्ने विषयलाई लिएरछलफलमा जुटेका छन्।

स्थायी कमिटी सदस्यहरु आगामी रणनीति बारे जुटिरहेको नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

'नेताहरुले छलफल गरिरहनु भएको छ। अब कसरी बढने भन्नेबारे सोच विचार गर्नुपर्ने छ,' उनले भने।

चैत ४ र ५ गतेको नेपाल समूहको भेला नरोकिए विधान अनुसार चल्ने ओलीले चेतावनी दिएका थिए। उक्त चेतावनीलाई नेपाल समूहका नेताले चुनौती दिँदै आएका थिए।

ओली स्पष्टिकरणमै नरोकिन भन्दै आफूविरुद्ध थप कदम चाल्न सक्ने भएकाले त्यसैको रणनीतिमा नेपाल समूहका नेता जुटेका हुन्।

हाल नेपालसँग ३८ जना सांसद छन् भने ८६ जना केन्द्रीय कमिटी सदस्य छन्। ओली समूहको ७ गते बसेको बैठकले ओलीलाई झनै शक्तिशाली बनाउने निर्णय गरेपछि नेपाल समूह अप्ठेरोमा परेको छ।

संसदीय दलको बैठकले समानुपातिक सांसदको बन्द सूची हेरफेर गर्ने अधिकार ओलीलाई दिएको छ भने राष्ट्रिय सभाको नेता छान्ने, प्रतिनिधि सभाका सांसदले मात्रै दलको नेता चुन्न पाउने, पार्टी पदाधिकारीलाई कारवाही गर्ने लगायतका अधिकार ओलीलाई दिएको छ।

२ सय ६४ जनाको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीको रुपमा रुपान्तरण गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell