PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिपछि त्रिदेशीय फुटबल सिरिजमा दर्शक हुने कि नहुने? छलफलमा एन्फा



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको विज्ञप्तिपछि त्रिदेशीय फुटबल सिरिजमा दर्शक हुने कि नहुने? छलफलमा एन्फा

काठमाडौं : कोरोना भाइरसका कारण रोकिएका खेलुकुद प्रतियोगिताहरु धमाधम हुन थालेको केही भयो। क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतियोगिताहरु भइरहेका छन् केही महिना यता। नेपालमा कोराना भाइरसको संक्रमण पनि केही मत्थर भएलगत्तै खेलका गतिविधिहरुले गति लिए।

चैत महिना त खेलकुदका हिसाबले व्यस्त छ। धेरैखाले प्रतियोगिता हुँदैछन् यसबिचमा। राष्ट्रियस्तरका फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल लगायतका प्रतियोगिता यही महिनामा आयोजना हुँदैछ।

भोलिबाटै नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल सिरिज आयोजना हुँदैछ। लामो समयपछि फुटबल आयोजना हुन लाग्दा माहोल पनि फुटबलमय बन्दै गएको छ। तर, आइतवार स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न भन्दै निकालेको विज्ञप्तिले भने खेलकुद क्षेत्रलाई पनि झस्काएको छ।

पोहोर साल पनि विश्वकप क्वालिफायर्सको खेल दशरथ रंगशालामा आयोजना गराउने अन्तिम तयारी हुँदै गर्दा कोरोना आएर खेल स्थगित भएको थियो। कोरोनाकै कारण उक्त प्रतियोगिता नेपालमा नहुने पनि निश्चित भइसकेको छ। अहिले बंगलादेश र कीर्गिस्तानको टिम नेपाल आइसकेको छ फुटबल खेल्न। अझ भनौ खेलको पूर्वसन्ध्याको माहोल छ। त्यसकै बिचमा हिजो स्वास्थ्य मन्त्रालयको विज्ञप्ति आएको हो। 

प्रतियोगिताका लागि एन्फाले टिकट बिक्री सुरु गरिसकेको छ। रंगशालामा दर्शक भित्र्याउनका १२ हजार सिटका लागि टिकट कटाइरहेको छ। टिकटदर ७ सय र १५ सय तोकिएको छ। १५ हजार क्षमताको रंगशालामा १२ हजार मानिस भित्र्याउने तयारी एन्फाको छ जुन स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको ठीक विपरीत हुन जान्छ।

त्यसो त कोभिड १९ पछि राजनीतिक दलका नेताहरुले सडकमा गरेका प्रदर्शन हेर्ने हो भने एन्फाको तयारीमाथि प्रश्न गर्न मिल्दैन। तर, खेल सुरु हुनु दुई दिन अघि स्वास्थ्य मन्त्रालयले भेला, बैठक र आयोजनाहरु नगर्न अनुरोध गर्नुले महत्वपूर्ण अर्थ राख्छ। 

खेलकुद क्षेत्रमा यस प्रतियोगिताले सबैभन्दा धेरै मानिस बटुल्ने लक्ष्य लिएको छ जुन हिजोको स्वास्थ्य मन्त्रालयको वक्तव्यसँग सोझै बाझिन्छ।

त्यसो त छिमेकी देश भारतका विभिन्न शहरहरु लकडाउन सुरु भइसकेको छ, कोभिड १९ को दोस्रो लहरका कारण। त्यस्तै, युरोपका पनि धेरैजसो मुलुकमा लकडाउनकै अवस्था छ। कोरोना भाइरसको केसहरु घट्दै जाँदा युरोपका कतिपय फुटबल लिगहरु केही दर्शक स्टेडियममा फर्काउन थालिएको थियो। तर, अहिले ती प्रतियोगितामा सीमित दर्शक या बन्द रंगशालामा खेलाइरहेका छन्।

स्वास्थ्यको विज्ञप्ति र फेरि टाउको उठाउँदै गरेको कोभिड १९ संक्रमणका कारण के प्रतियोगितामा दर्शकको उपस्थिति घटाउने तयारीमा एन्फा पुगेको हो? उत्तरमा एन्फा प्रवक्ता किरण राईले भने, 'अहिलेसम्म केही निर्णय भएको छैन। आज हामी बैठक बस्दैछौं।'

एन्फाको बैठक आज साढे तीन बजे बस्ने बताइएको छ।

के छ मन्त्रालयको विज्ञप्तिमा?

मन्त्रालयले आइतवार विज्ञप्ति निकाल्दै छिमेकी राष्ट्रहरूमा कोभिड-१९ सङ्क्रमण बढेकाले देशभर कुनै पनि भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ।

देशभर सभा, जुलुस,भेला, जमघट,गोष्ठी, सेमिनार लगायतका भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेको हो। त्यस्तै अनिवार्य मास्कको प्रयोग, साबुन पानीले हात धुनेलगायत कार्यहरू गर्नसमेत सरकारले अनुरोध गरिएको छ।

'नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय र कार्यहरु नगर्नु हुन र सामाजिक दुरी, भौतिक दुरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको उचित प्रयोग लगायत यस मन्त्रालयबाट विगतमा जारी गरिएको अन्य स्वास्थ्यको मापदण्डहरु समेत पालना गरि कोभिड १९ को संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दिक अनुरोध छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell