काठमाडौं : सेतो रङ्गको हुडी, अनुहारमा मास्क। एक युवक घरको वरपर 'रेकी' गरिरहेका थिए। उनी घरको गेट बाहिर यताउता गरिरहेका थिए। केही बेरमा अर्को युवक घरभित्र छिरे। बाहिर रहेका पहिलेका युवक भने पहिले जसरी यताउता गरिरहेका थिए, त्यही पारामा।
रातको ९ बज्यो। पुसको महिना, दिन छोटो। मानिसहरू चाँडै सुतिसक्ने समय। काठमाडौं तारकेश्वरका त्वानाबासुको परिवार पनि सुतिसकेको थियो। घरको छैटौं तल्लामा बस्दै आएका उनीहरू तल्ला तलाहरूमा के भइरहेको छ थाहा पाउँदैन थिए।
करिब साढे ९ बजेतिर घरभित्र छिरेका ती युवक आधा घण्टापछि निस्किए। हिँड्दै आएर घरभित्र छिरेका युवक फर्किँदा भने पल्सर बाइकमा फर्किए। केही बेरमा बाहिरतिर देखिएका अर्का युवक पनि कतै हराए।
भोलिपल्ट बिहान उठ्दा घरभित्र पार्किङ गरेको बाइक गायव। राति नै चोरी भइसकेछ।
+++
चार महिनापछि साविका त्वानाबासुलाई फोन आयो- 'तपाईँको बाइक भेटिएको छ।'
फोन महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गरेको थियो। साविका र उनका आफन्त प्रहरीकहाँ पुगे। त्यहाा पुगेर हेर्दा उनीहरूको हराएको बाइक यही नै हो भनेर छुट्याउन सजिलो थिएन।
हराउँदा बा ८५ प १७७० नम्बरको थियो, भेटिँदा बा ९१ प १९७ नम्बर। त्यतिमात्र कहाँ हो र? बाइकको अरू कुरा त छाडौँ चक्का समेत फेरिएको रहेछ।
'पहिले त्यस्तो नयाँ जस्तो थियो। अहिले सबै कोत्रिएको छ। चक्का समेत फेर्न भ्याएछन्। बाइक नै अर्कै भएछ,' मोटरसाइकल धनी साविकाले भनिन्।
तीन वर्षअघि किनेकी थिइन् त्यो बाइक। पुस ३ गते घरमा नै पार्किङ गरेको ठाउँबाट गायव भयो। घरमा गेट नभएको मौका छोपी चोरले बाइक चोरेर लगेका थिए। चोरीको घटना चाहिँ साविकाको घरमा जडान भएको सीसी क्यामरामा समेत कैद भएको थियो।
'गेट बनाउन भनिरहेको थिएँ। एक दुई दिन ढिला भएको थियो। त्यही बेला चोरेर लगेछ। अहिले त घरमा गेट लगाइसकेको छु,' साविकाले भनिन्।
घरमा सीसी क्यामरा त थियो तर गेट थिएन, बाइक चोरी हुँदा। गेट भएको भए बाइक त्यति सजिलै चोरी हुँदैन थियो कि भन्ने लाग्छ साविकालाई। चोरी भएपछि उनले ट्राफिक प्रहरीलाई बाइक हराएको जानकारी दिइन्। घरमा भएको सीसी क्यामरा फुटेज समेत उपलब्ध गराइन्।
उता बाइको बिमा समेत गरेकी थिइन्। बिमा रकमको लागि उनले क्लेम समेत गरिन्। बिमाको सबै प्रक्रिया पूरा भइसकेको थियो। दुई चार दिनमा नै बिमा रकम हात पर्दै थियो। तर, त्यसभन्दा अगाडि उनको हराएको बाइक भेटिएको जानकारी आयो। सोमवार हराएको बाइक बुझ्न आवश्यक कागजपत्र बोकेर उनी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेकी थिइन्।
उनी हराएको बाइक फेला पर्दा खुशी थिइन्। तर, उनको बाइक कसले चोर्यो र कसरी भेट्यो उनलाई पत्तो छैन।
+++
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरी ३० वटा मोटरसाइकल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ। तर, यसरी चोरी गर्नेमध्ये दुई जनामात्र समातिएका छन्। प्रहरीले पक्राउ गरेका दुई जना साविकाको मोटरसाइकल चोरी गर्ने भने होइनन्। सीसी क्यमरामा कैद भएका दुई युवकलाई हेर्न साविका प्रहरीमा पुगिन्। तर, उनीहरू थिएनन्।
महाशाखाले पीडित सहायता इकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गोंगबु बस्ने अशोकमान सिंह कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको निलो रोयल इनफिल्ड बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय विमल गुरुङ र मोरङ बेलबारी घर भई गोल ढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाइकल सहित पक्राउ गरेको थियो।
तर, साविकाको मोटरसाइकल चोरी गर्न उनीहरू होइनन्। साविकाको मोटरसाइकल चोरी गर्नेहरू पक्राउ परेका छैनन्। तर, मोटरसाइकल भेटिएको छ। आखिर कसरी?
'चेकिङ गर्दा बिल बुक नभएपछि हामी बाइक नियन्त्रणमा लिन्छौँ। मानिसलाई बिल बुक ल्याउनु, अनि लैजानु भन्ने गरेका छौँ। सबै मानिसले चोरीकै बाइक चढेका हुन्छन् भनेर शङ्का गर्न पनि भएन। तर, जसले चोरेको हुन्छन् उनीहरू फेरि आउँदैनन्। पछि यातायतामा गएर कागजपत्र म्याच गर्दा मात्र चोरी भन्ने खुल्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनकराज भट्टराईले भने।
यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ३१ वटा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाएको महाशाखाले जनाएको छ।
साविकाको मोटरसाइकल फेला पर्यो। तर, उनको मोटरसाइकल चोरलाई सीसी क्यामरामा कैद अनुहार हेरर आक्रोशित पनि भइन्। अनि आशा राखिन्, कुनै दिन अरु कसैको चोरी गर्दा पक्कै समातिएलान् तिनीहरू।