PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभामुख सापकोटाले छलफलका लागि प्रधानमन्त्री ओलीसँग मागे समय : के होला त आइस ब्रेक?



कमलराज भट्ट

सभामुख सापकोटाले छलफलका लागि प्रधानमन्त्री ओलीसँग मागे समय : के होला त आइस ब्रेक?

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई प्रभावकारी बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि समय मागेको बताएका छन्।

'संसदलाई प्रभावकारी बनाउन छलफलका लागि समय मागेको छु,' पत्रकारहरुसँग अनौपचारिक कुराकानीका क्रममा सापकोटाले भने, 'समय पाउनेमा आशावादी छु।'

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा दुई धार देखिएलगत्तै सभामुख र प्रधानमन्त्री बिच द्वन्द्व देखिएको थियो। संवैधानिक नियुक्तिको विषयमा सभामुख अनुपस्थित भएसँगै प्रधानमन्त्री ओली सभामुख सापकोटासँग असन्तुष्ट बनेका थिए। त्यही क्रममा सभामुख सापकोटा आफैँले नियुक्तिका विरुद्धमा अदालतमा मुद्दा लिएर गएपछि सम्बन्ध थप चिसिएको थियो। त्यस यता औपचारिक समारोहमा औपचारिक हिसाबले मात्र प्रधानमन्त्री र सभामुख उपस्थित भएको देखिन्छ। दुई बिच संवादहीनता कायमै छ।

पत्रकारहरुसँगको कुराकानीमा सभामुख सापकोटाले सरकारका काममा आफूले बाधा अड्काउ केही नगरेको पनि सुनाए। प्रधानमन्त्री ओलीले भने सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। प्रधानमन्त्रीले लगाएका आरोपका विषयमा प्रश्न गर्दा सभामुख सापकोटाले भने, 'यो विषयमा सबै कुरा खुल्ला नै छ। मेरो भन्नु केही छैन।'

उनले रिक्त रहँदै आएको उप सभामुख निर्वाचनको विषयमा संसद सचिवालय तयार रहेको भए पनि दलहरु तयार हुनुपर्ने सुनाए। उपसभामुखको निर्वाचनका लागि कार्यतालिका बनाउन आफूहरु तयार रहेको र त्यसमा दलहरुबिच सहमति आवश्यक रहेको उनले बताए। 
उनले संसद प्रभावकारी बनाउने तथा अध्यादेशहरुको विषय सधैं यत्तिकै रहन नसक्ने बताउँदै त्यसमा क्रमश: दलहरुसँग सहमति हुँदै जाने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell