PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै, ४ महिनामा सवा दुई लाख पर्यटकले गरे भ्रमण



पूजा पन्थी

लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै, ४ महिनामा सवा दुई लाख पर्यटकले गरे भ्रमण

बुटवल : कोरोना भाइरस संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएका छन्। गत २०७६ चैतबाट बन्द गरिएको लुम्बिनी यही मंसिर ३ गते सरकारको निर्णयपछि पुनः पर्यटकहरुका लागि खुल्ला गरिएको थियो।

मंसिर ३ बाट चैत ७ गते शनिवारसम्ममा कुल २ लाख ३१ हजार ८ सय ६२ पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुमा केही भारतीयहरु रहे पनि अन्य देशका पर्यटक भने न्यून छन्।

‘काठमाडौंमा रहेका विभिन्न देशका राजदूत तथा अन्य कूटनीतिक नियोगका विदेशी व्यक्तिहरु लुम्बिनी आएका छन् तर विदेशी पर्यटकहरु त्यस्तो पाइएको छ्रैन’, राईले भने, ‘नेपाली पर्यटकहरु भने आउने क्रम विस्तारै बढेको छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट लुम्बिनी घुम्न आएका छन्, चैत ६ गते शनिवार एकै दिन ७ हजार ६ सय २ जना पर्यटक लुम्बिनी भ्रमणमा पुगेका थिए।’

अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो भएको भन्दै उनले यस्तै तरिकाले पर्यटक आगमन बढे पुरानै लयमा फर्कने बताए। तर, लुम्बिनीमा विदेशी पर्यटक भने न्यून रहेको उनको भनाइ छ।

शनिवारको तुलनामा आइतवारदेखि शुक्रवारसम्म भने प्रतिदिन औसतमा १ हजार बढी पर्यटक लुम्बिनी पुग्ने गरेका छन्।

लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसँग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलबस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढा टाढाबाट पनि आएको पाइएको छ। मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलबस्तुका सर्वसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ। यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ। लुम्बिनी भ्रमणमा आउने प्राय सबै मायादेवी मन्दिर पुग्ने गरेका छन्।

पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी बिहार, विश्व शान्ति दीप, केन्द्रीय नहरमा नौका बिहार आकर्षक छन्। अहिले बसन्त ऋतुमा फुलेका विभिन्न रंगीबिरंगी फुलहरु, चराको चिरबिरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। लुम्बिनीमा ४ सय ५० भन्दा बढी थरीका चराहरु पाइने गरेका छन्।

आन्तरिकमा पनि एकै दिनमा फर्कने पर्यटक बढी

लुम्बिनी आउने पर्यटक बढे पनि सेम डे पर्यटकनै बढी रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुन मान श्रेष्ठले बताए। अहिले लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बृद्धि भएको छ।

‘लुम्बिनी वरिपरिका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन र केही मात्र बास बस्ने गरेका छन्, विस्तारै लयमा आउनेछ भन्नेमा विश्वस्त छौँ। टाढा स्थानहरु पोखरा, काठमाडौं, धरान, झापा, ईलाम, मोरङ, तेह्रथुम, पाचथर, नेपालगन्ज, दाङ, महेन्द्रनगर, सर्खेत, धनगढी, जुम्ला लगायतका स्थानबाट समेत पर्यटकहरु बास बस्ने गरेर आएका छन्, कोरोनाले ध्वस्त पर्यटन क्षेत्र विस्तारै अघि बढला भन्नेमा हामी विश्वस्त छौँ,’ अध्यक्ष श्रेष्ठले भने।

होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु वैशाख महिनादेखि लागू हुने गरी ल्याउने तयारी भैरहेको समेत श्रेष्ठले बताए। आन्तरिक पर्यटकले मात्रै पर्यटन व्यवसाय अघि बढ्न नसक्ने भएकाले कम्तिमा भारतीय पर्यटकहरु सहज रुपमा आउन मिल्ने वातावरण भए पर्यटक थप हुने उनको भनाइ थियो।

पछिल्लो समय लुम्बिनी, भैरहवा, बुटवल, बेलहिया लगायतका क्षेत्रमा पर्यटनमा सम्भावना बढी देखेर ठूला ठूला होटल खुल्ने क्रम बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell