काठमाडौं : गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेदविरुद्धको गीत ‘ए मान्छे...’ सार्वजनिक गरेका छन्। ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबै खाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन्।
चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे...’ २१ औँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेदविरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याई छ। मर्यादा मिडियाको प्रस्तुती रहेको गीत राजसागरकै संगीतमा तयार भएको हो।
अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आइरहेको सन्दर्भमा असमानता र अन्यायको जरो जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन्।
‘मान्छेहरु जातकै कारण मारिनेक्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ,’ उनले भने।
संजीव बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो। भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन्।
