PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय फुटबल : 'वेट एण्ड सी' को रणनीतिमा नेपाल



पहिलोपोस्ट

त्रिदेशीय फुटबल : 'वेट एण्ड सी' को रणनीतिमा नेपाल

काठमाडौं : भोलिबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिदेशीय फुटबल सुरु हुँदैछ। प्रतियोगितामा सहभागी हुन बंगलादेश र कीर्गिस्तानको टोली नेपाल आइसकेका छन्। लामो समयपछि नेपाली टोलीले घरेलु मैदानमा फुटबल खेल्दै छ।

कीर्गिस्तानको यू २३ टोलीमा युवा खेलाडीको वर्चस्व छ। कीर्गिस्थानका प्रशिक्षक होल्डोसोब नुरबेक आफ्नो खेलाडीहरुको औसत उमेर नै २१/२२ रहेको बताउँछन्। त्यस्तै बंगलादेशका प्रशिक्षकले पनि जेम्स डे ले पनि युवा खेलाडीहरुलाई प्राथमिकता दिने संकेत गरे।

यता नेपालको तयारी भने फरक छ। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन विश्वकप क्वालिफायर्सका लागि भनेर लामो समय ट्रेनिङ गरेकाले टिमको अवस्था राम्रो भएको बताउँछन्।

प्रतियोगितामा नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नेछन्। आजै भारतमा लिग खेलिरहेका चेम्जोङ आज नेपाल आइपुग्ने महर्जनले बताए।

नेपालले यसअघि मंसिर महिनामा बंगलादेश नै गएर 'मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज' खेलेको थियो। जसको एउटा खेलमा पराजय र एउटा खेलमा बराबरी खेल्दै उपाधि घरेलु टोलीलाई नै सुम्पिएको थियो। तर अहिले परिस्थिति फेरिएको विश्लेषण प्रशिक्षक महर्जनको छ।

'त्यो बेलामा अवस्था कस्तो थियो भने लगभग एकहप्ताको ट्रेनिङ पनि राम्ररी गर्न सकिएको थिएन। त्यसमा पनि पहिलो रोजाइका खेलाडीहरु कोरोना संक्रमित भएका थिए,' उनले भने, 'अहिले अवस्था फरक छ। अभ्यासहरु राम्रो भएको छ। वेस्ट पर्फमेन्स दिनसक्ने आशा छ।'

भोलिबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र कीर्गस्तान भिड्ने छन्। उक्त खेलको प्रदर्शनलाई हेरेर नेपाली टोलीको अन्तिम रणनीति बनाउने लक्ष्य महर्जनको देखियो।

'भोलिको खेल हामी हेर्छौं। त्यसमा कस्तो प्रदर्शन हुन्छ।' उनले भने।

त्यस्तै नेपाली टोलीका उपकप्तान रोहित चन्द लामो समयसम्म नेपाली टोलीले घरेलु मैदानमा खेल्न नपाएकोले यो प्रतियोगिता राम्रो अवसर भएको बताए।

'लामो समयसम्म खेल नहुँदा र विश्वकप क्वालिफार्यसको खेल पनि स्थगित हुँदा खेलाडीलाई मोटिभेसन चाहिएको थियो,' चन्दले त्यसको आवश्यकता यस प्रतियोगिताले समेट्ने विश्वास लिएको उनले बताए।

'धेरै पछि गृहमैदानमा खेल्न पाउँदा धेरै खुशी छौं।' उनले भने।

यद्यपि नेपाली टोलीका केही खेलाडीले चोट बोकेको पनि बताइएको छ। यसमा प्रशिक्षक महर्जन खासै खुल्न चाहेनन्।

दशरथ रंगशालामा हुने प्रतियोगितामा सामान्य प्यारापिटतर्फ ७०० र भीआईपी तर्फ १५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा सामाजिक दुरी पनि कायम राख्नु पर्ने अवस्थालाई ध्यानमा राख्दै १२ हजार टिकेटमात्र बिक्री हुने जनाइएको छ।

मार्च २३ (चैत १०) गते हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान भिड्नेछन्। त्यस्तै मार्च २५ (चैत १२) गते हुने खेलमा नेपालले कीर्गिस्तानसँग भिड्नेछ। र, मार्च २७ (चैत १४) मा हुने खेलमा नेपाल र बंगलादेश भिड्नेछन्। मार्च २९ (चैत १६) गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सबै खेलहरु साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell