PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु



निशा गुरुङ

पत्रकार महासंघ मकवानपुर शाखाद्वारा ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्न शुरु

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ। महासंघ मकवानपुर शाखाले आजबाट पेन्सन वितरणको काम शुरु गरेको हो।

पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरण गर्न शुरु गरिएको हो। पेन्सन वितरण कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गरे।

करिब ४० वर्षसम्म पत्रकारिता गरेर निबृत जीवन बिताइरहेका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत वितरण गरिएको हो।

२० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिइने बताइएको छ। पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताए।

पत्रकार महासंघका ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरणको काम शुरु गरेको अध्यक्ष हरि हुमागाईले बताए। पेन्सन सम्बन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको थियो।

महासंघ मकवानपुर शाखामा आवद्ध भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन शुरु गरिएको हो। लगातार कम्तीमा बीस वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन शुरु गरिएको अध्यक्ष हमागाईँले बताए।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ। मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए।

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारितालाई मुख्य पेशा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए। पेन्सन कोषको सञ्चालनको लागि महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्ध सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति संघ, संस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell