PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कोभिड-१९ ले रोकेका योजना पूरा गर्दै बुटवल उपमहानगर, यस वर्षका योजना सम्पन्न हुन चुनौती



पूजा पन्थी

कोभिड-१९ ले रोकेका योजना पूरा गर्दै बुटवल उपमहानगर, यस वर्षका योजना सम्पन्न हुन चुनौती

बुटवल : बुटवल उप-महानगरपालिकाले कोभिड-१९ का कारण गत वर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई यो वर्ष सम्पन्न गर्न लागेको छ। कोरोना महामारीका कारण उपभोक्ता समितिमार्फत सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयनलाई जोड दिएको उपमहानगरले ९० प्रतिशत योजना पूरा गरिसकेको दाबी गरेको छ।

गत वर्षका योजना सम्पन्न गर्नेगरि अघि बढेको उपमहानगरमा यस आर्थिक वर्षका योजनाहरु भने सम्पन्न हुनेमा चुनौती देखा परेको छ। आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा हालसम्म ५० प्रतिशत योजनाहरु मात्रै सम्झौता भएर कार्यान्वयका लागि अघि बढेका छन्।

फागुन मसान्तसम्म सबै योजनाहरुको सम्झौता गरी कार्यान्वयमा जाने लक्ष्य लिएको बुटवल उपमहानगरले एक महिना थप गरी चैत मसान्तसम्म सबै योजनाहरुको सम्झौता गर्नेगरि समयसीमा परिवर्तन गरेको छ।

उपमहानगरमा २८९ वटा योजना गत वर्षका रहेका छन् भने यो वर्ष ४१९ वटा योजना स्वीकृत भएका थिए। कूल ७०८ योजनामध्ये ४३३ योजना कार्यान्वयनका चरणमा गएका छन् भने ती मध्ये २४९ योजना सम्पन्न भएका छन्। निर्माण कम्पनीहरुबाट कार्यान्वयन गर्नका लागि ८३ वटा योजनाको सम्झौता भएका छन् भने उपभोक्ता समितिहरुबाट कार्यान्वयनका लागि ३५० योजना सम्झौता भएका छन्।

उपमहानगरको नियमित पत्रकार भेटघाटमा प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समितिमार्फत हुने योजना बाहेकका सबै योजनाहरुको ठेक्का सम्झौता भइसकेकाले पूँजीगत खर्चमा लक्ष्य प्राप्ति हुने दावी गरे।

आर्थिक वर्षको अन्त्यतिर पूँजीगत खर्च ह्वात्तै बढ्ने पुरानै प्रवृत्ति यो वर्ष पनि देखिने भएको छ। उपमहानगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा पूँजीगत खर्च २८ प्रतिशत मात्रै भएको छ।

विनियोजित सोही अवधिमा पूँजीगत खर्च हुने अनुपात गत वर्षको तुलनामा भने केही बढी हो। फागुन मसान्तसम्म गत वर्ष पूँजीगत खर्च २६ दशमलव ९८ प्रतिशत भएको थियो।

उपमहानगरले चालु खर्च कम गर्ने लक्ष्य अनुरुप यो वर्ष गत वर्षको तुलनामा ४ दशमलव शून्य २ प्रतिशतले कमी ल्याएको छ। गत वर्ष फागुन मसान्तसम्म चालु खर्च ४१ दशमलव ६६ प्रतिशत रहेको थियो भने यो वर्षको सोही अवधिमा ३७ दशमलव ६४ प्रतिशत भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell