PahiloPost

Apr 12, 2021 | ३० चैत्र २०७७

साँझमा धेरै दुर्घटना, बटुवाको मृत्यु धेरै : किन ट्राफिक जाम बल्झिरहन्छ यहाँ?



सविन ढकाल

साँझमा धेरै दुर्घटना, बटुवाको मृत्यु धेरै : किन ट्राफिक जाम बल्झिरहन्छ यहाँ?

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र सवारी दुर्घटनाको जोखिम बढेको छ। दुर्घटनामा परि मृत्यु हुनेको संख्यासमेत बढेको छ। त्यतिमात्र होइन, काठमाडौं उपत्यकाभित्र सडक जाम पनि उत्तिकै छ। दैनिक रूपमा १ हजारको सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन भए पनि जाम घटेको महसुस आम मानिसले गर्न सकेका छैनन्। आखिर काठमाडौं उपत्यकाभित्र जाम किन बढी रहेको छ? अनि सडक दुर्घटनाको प्रमुख जिम्मेवारी को हो? यस विषयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी

काठमाडौं उपत्यकाभित्र सडक दुर्घटनाको जोखिम बढेर गएको छ। यसको प्रमुख कारण के होला?

दुर्घटना बढ्ने सम्भावनाहरू बढिरहेको छ। दुर्घटना किन हुन्छ भनेर एनलाइसिन गर्नुपर्ने जरुरी छ। दुर्घटना काठमाडौंमा किन बढ्यो भनेर बाहिरका जिल्लासँग तुलना गर्न मिल्दैन। हाइवे र काठमाडौंमा हुने दुर्घटनाका कारण फरकफरक हुन्छ। काठमाडौँभित्र हेर्नु भयो भने दुर्घटनामा मृत्युको दुई वटा कारण देख्नुहुन्छ। एउटा पैदल यात्रुहरूको बढी मृत्यु भइरहेको छ। सवारी साधनमा जानुहुन्छ भने मोटरसाइकलको इन्भल्मेन्ट बढी छ। समय हेर्ने हो भने साँझको समयमा बढी छ दुर्घटना। अब हामी मोटरसाइकल, साँझको समय र पैदल यात्रीमा फोकस हुनु जरुरी छ कारण खोज्दा। काठमाडौंमा वास्तविक दुर्घटना हुनुको एउटा कारण जथाभावी बाटो काट्ने पनि हो। हामीसँग गाडीहरू धेरै छन्। मानिसले जथाभावी बाटो काटिदिएका छन्। यसलाई रोक्न, व्यवस्थित गर्नुपर्छ। साँझको समयमा पैदल यात्रुको मृत्यु भइरहेको छ। किनकि यस समय गाडीको स्पिड बढी छ। त्यसका लागि बत्तीको व्यवस्था गर्नुपर्छ। बत्ती नभएको कारण पनि साँझमा मृत्यु भएको छ। पैदल यात्रुलाई बाटो काट्न सिकाउनु पर्छ। अर्को पाटो मापसे पनि छ।

त्यसो भए अब के गर्नु पर्छ त?

सडक दुर्घटना कम गर्ने भए सडकको अवस्थामा सुधार गर्नुपर्छ। सडकमा चाहिने बत्ती, ओभर हेड ब्रिज, सडकमा चाहिने डिभाइडर लगायत रोडका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने हुन्छ।

यो त दुर्घटना भए। सडकमा देखिने दैनिकीको जाम चाहिँ ट्राफिक सक्रियताले कतिसम्म हट्न सक्छ?

ट्राफिक प्रहरी भनेको त एउटा कम्पोनेन्ट मात्र हो। ट्राफिक प्रहरी जत्तिकै अन्य कम्पोनेन्टहरु पनि छन्। जाम भनेको ट्राफिक प्रहरीले राम्ररी हात नहल्लाएर भएको होइन। यहाँको सडक संरचना, सवारीको सङ्ख्या के छ? सडकका पूर्वाधार के छन्। विदेशमा ट्राफिक प्रहरी पनि देखिँदैनन्। तर, जाम पनि हुँदैन। किन हुँदैनन? पूर्वाधारले गाइड गरेको हुन्छ त्यहाँ। त्यहाँ सवारीले सडक मिच्छु भन्दा पनि पाउँदैनन्।

त्यसो भए अहिले ट्राफिक जाम ट्राफिक प्रहरीले प्रभावकारी ढङ्गले काम नगर्दाको परिणाम होइन भन्न खोज्नु भएको हो?

होइन। तीन वटा कारणले हो। पूर्वधार राम्रो भयो भने ट्राफिक प्रहरीलाई त्यसैले गाइड गर्छ। अर्को पूर्वाधार कहाँ काम गर्छ भने हाम्रो प्रत्येक सय सय मिटरमा जक्सन छन्। यताबाट पनि गाडी आउँछ उताबाट पनि आउँछ। डिभाइडर छैन। जताबाट पनि गाडी घुम्छ। जक्सनलाई फ्री गर्ने हो भने कि त अन्डरग्राउन्ड बनाउनुपर्‍यो कति ओभर हेड ब्रिज। यी सबै कुरा पूर्वधार हुन्। यी पूर्वधार राम्रो भए, जाम घट्छ। अहिलेको सवारीको सङ्ख्या र सडकको अवस्थालाई हेर्दा पाँच लिटरको भाँडोमा ६ लिटर पानी हालेको जस्तो भइसकेको छ। अर्को पाटो नियम नमान्ने छ। चालक जसले नियम जान्दछन् तर मान्दैनन्। त्यहाँ आए हामी पनि जोडिन्छौं। जो चालक नियम मान्दैन र तिनका कारण जाम बढेको छ तीनहरूलाई नियम मान्न लगाउने हो हामीले।

जाम त छँदै छ त्यसमाथि भीआइपीको सवारीले पनि जाम र सवारी चालकले सास्ती खेपेको गुनासो छ। यस्ता सवारीमा सर्वसाधारण सास्ती कम पार्ने कुनै तरिका अपनाउन सकिँदैन?

यसमा धेरै छलफल जरुरत होला। अहिले भीआइपीको सवारी सबभन्दा कम असर पर्ने गरी मुमेन्ट चलाइरहेका छौँ। भीआइपीको सवारी भएपछि केही त समस्या हुन्छ नै। तर, कम असर पर्नेगरी काम गरिरहेका छौँ। भीआइपीको सवारीले मात्र अस्तव्यस्त भयो भन्ने अवस्था चाहिँ छैन।

ट्राफिक प्रहरी महाशाखामा प्रमुख आएसँगै केही नियम बनाउनु हुन्छ (जस्तो नो हर्न, जेब्रा क्रसिङमा जरिवाना आदि) र फेरी सरुवा भएपछि अर्को आउने व्यक्तिले त्यसलाई प्रभावकारी ढङ्गले लिँदैन किन होला?

तपाईँले भनेको कुरा ठिक हो। नियम त परिवर्तन हुँदैन आउने मानिसको प्राथमिकता के हो? के गर्दा आफ्नो प्राथमिकता पूरा हुन्छ? त्यसलाई फोकस गरेर काम गर्ने हो। मैले दुई वटा प्राथमिकता राखेको छु। दुर्घटना कम गर्ने र जाम हुन नदिने। त्यसको लागि जाम हटाउनु खोज्छु। के गर्दा दुर्घटना कम हुन्छ त्यो खोज्छु। जसले गर्दा पहिलेका र मैले गरेको कामको प्राथमिकतामा फरक हुनसक्छ। मेरो प्राथमिकता नो हर्न हो कि जाम हुन नदिनेमा हो, प्रष्ट हुन पर्छ। म जाम हुन नदिनेमा लागेको हुन्छ। तर, नो हर्नमा नलाग्ने भन्ने चाहिँ हुँदैन।

एक समय सडकमा खटिएका ट्राफिक प्रहरीले चालकसँग घुस लिने आरोप खेपको थियो। अहिले ट्राफिकलाई घुस दिन खोज्ने समातिए भन्ने सुनिन्छ। के साँच्चै यस्तो भएको हो कि सानो रकम मात्र फिर्ता गर्ने गरेको हो?

हामीकहाँ शून्य सहनशीलताको परिपाटी छ, नीति छ। पालना गर्नुपर्छ भनेर हाम्रा प्रहरीलाई मोटिभेट गरिरहेका छौँ। एउटा त घुस जसले फिर्ता गर्छ त्यसलाई सम्मान र पुरस्कार गरिरहेका छौँ। त्यसले मोटिभेट भयो। अर्को घुस लिँदा कारबाही गरिरहेका छौँ। उनीहरूले अवसर दिने सम्मान गर्ने गरेर कन्भिन्स गरिरहेका छौँ। अर्कोतिर ट्राफिक प्रहरीलाई घुस दिए समात्छ भनेर चालक पनि सजग भएको अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell