PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जसपाका शीर्ष र दोस्रो तहका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल



पहिलोपोस्ट

जसपाका शीर्ष र दोस्रो तहका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्।

मधेसका माग सम्बोधनका लागि एमाले र जसपाको कार्यदलले गरेका काम कारबाही र प्रगतिबारे समीक्षा गर्न नेताहरु बालुवाटार गएको एक नेताले बताए। ‘कार्यदल लेभलमा कुराकानी भयो। अब माथिल्लो लेभलमा शेयरिङका लागि बैठकमा बोलाइएको थियो,’ ती नेताले भने।

उनका अनुसार शीर्ष नेताहरुसँग साढे ९ बजे सुरुमा छलफल भएको थियो। आधा घण्टापछि १० बजे कार्यदलका सदस्यलाई बोलाइएको थियो। छुट्टाछुट्टै बैठक सकारात्मक भएको उनले जानकारी दिए। कार्यदलमा एमालेबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन्। 

जसपाले रेशम चौधरीको रिहाइ, झुठा मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनको मुद्दा उठाउँदै आएको छ। यी मुद्दाको सम्बोधन सुरु गरे सरकारलाई समर्थन दिन जसपाभित्र अध्यक्ष ठाकुर र शीर्ष नेता राजेन्द्र महतोको समूह तयार छ। तर उपेन्द्र यादव र बाबुराम भट्टराईको समूह भने ओलीसँग सहकार्य गर्न नहुने र उनलाई हटाएर नयाँ सरकार बनाउने पक्षमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell