PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पत्रकारसित जङ्गिदै देउवाले भने : बुझ्नु भएन हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो ...



अनन्तराज न्यौपाने

पत्रकारसित जङ्गिदै देउवाले भने : बुझ्नु भएन हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो ...

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको विघटनको प्रस्तावलाई 'प्रतिगमन' भन्न इन्कार गरेका छन्।

विराटनगर विमानस्थलमा स्थानीय संवाददातासित सभापति देउवाले यस्तो विचार अघि सारेका हुन्।

उनले भने, ‘अदालतले जे फैसला गरेको छ, हामी मान्छौँ। के को प्रतिगमन? मलाई थाहा छैन। तपाईंलाई थाहा होला।'  

उनले आफ्नो पार्टीले विपक्षमा बस्ने म्यान्डेट पाएकाले सत्तामा जाने कुरा गौण भएको दोहोर्‍याए।

‘हामी विपक्षी पार्टी हौँ, हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ,’ देउवाले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

तपाईंहरूलाई त आलोचकले सरकारी प्रतिपक्ष भन्न थाले नि भन्ने प्रश्नमा देउवाको जबाफ थियो, ‘म आलोचक होइन। मैले भनेको छैन। कस–कसले के के भन्छन् त्यतापट्टि म जान्न।’

ओली सरकारका विरूद्ध अविश्वासको प्रस्ताव कहिले आउला भन्ने विषयमा उनले केही बताउन चाहेनन्। अविश्वासको प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने सवाल गर्दा पनि उत्तर दिन मानेनन्।

नेपाली काङ्ग्रेसले यही सरकारलाई समर्थन गर्नुको कारण चाहिँ के हो भन्ने जिज्ञाशामा देउवा यसरी जङ्गिए, ‘मैले अघि नै भनेको कुरा तपाईंले बुझ्नु भएन? हामी विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो, विपक्षी हो।’

यति भनेपछि देउवा रिसाउँदै उठेर हिँडे। 

हिँड्दाहिँड्दै एक पत्रकारले सोध्न भ्याए, 'के तपाईं आगामी महाधिवेशनमा सभापति लड्दै हुनुहुन्छ?'

देउवाको प्रत्युत्तर थियो, ‘हो, यस्तो राम्रो प्रश्न गर्नुस्। जथाभावी नसोध्नुस्। सबैले समर्थन गरेर उठ्नोस् भनेर अनुरोध गरे भने लड्छु। यस्ता कुरा मात्र सोध्नुस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell