PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'थिंक पिंक' : पेन्टिङ मार्फत् महिलाको अवस्था चित्रण गर्दै अनिषा

'थिंक पिंक' : पेन्टिङ मार्फत् महिलाको अवस्था चित्रण गर्दै अनिषा

लक्ष्मी बलायर/पहिलोपोस्ट


बालिकाले आफ्नो मुखलाई हातले बन्द गरेकी छिन्। युवतीले आँखा बन्द गरेकी छिन्। वृद्ध महिलाले भने कानमा हात लगाएर सुनिरहेकी छिन्। चित्रकार अनिषा महर्जनले बनाएको यो पेन्टिङमा महिलाको बाल्यकालेदखि वृद्ध अवस्थासम्म चित्रण गर्ने प्रयास गरिएको छ।

बौद्धस्थित 'ग्यालरी एल ए'मा राखिएको यो चित्र 'थिंक पिंक' थिम अन्तर्गत हो।

अनिषा भन्छिन्, ' घरमा छोरी मान्छेको बोल्न पाउने अधिकार खोसिएको हुन्छ। छोरीले केही माग्दा छोराहरुलाई प्राथमिकतामा दिइन्छ। युवतीले आँखा बन्द गरेर समाजमा देखेको कुरा बेवास्ता गर्नुपरेको छ। युवतीहरुको इच्छा गौण हुन्छ। वृद्ध अवस्थामा भने महिलाको काम सुन्ने मात्रै हो। सबै कुराको दोष आमालाई नै दिइन्छ। यही अवस्थालाई पेन्टिङमार्फत देखाउन खोजिएको हो।'  

ग्यालेरीमा १४ वटा पेन्टिङ प्रदर्शनीमा राखिएको छ। सबै पेन्टिङमा महिलाहरुको अवस्थालाई उतार्ने प्रयास अनिषाको देखिन्छ। महिलाको संघर्ष, प्रतिरोध र सामाजिक मनोविज्ञानलाई 'फोकस' गरि 'थिंक पिंक' शीर्षकमा प्रदर्शनी गरिएको उनले बताइन्।

'यी पेन्टिङहरुले महिलाबारेमा सोचौँ वा महिला भएर सोचौँ भन्ने सन्देश दिन खोजेको हो' उनले भनिन्।

पुरुषभन्दा महिलालाई दोस्रो वर्गको नागरिक भनेर हेरिने गरेको भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा महिलाप्रति गरिएका अवस्थालाई चित्रण गर्न नै पेन्टिङ बनाइएको बताइन्। महिला केन्द्रित भएर सन् २०१७ देखि उनले चित्रहरु बनाउन सुरु गरेकी हुन्।

प्रदर्शनीमा राखिएका पेन्टिङहरु ४० हजारदेखि एक लाख ५० हजार सम्म मूल्यको रहेको छ। अनिषाले २०१७ देखि महिलाका विषयबस्तुलाई समेटेर पेन्टिङ गर्न थालेकी हुन्।

हाल प्रदर्शनीमा अवलोकनकर्ताको कमी रहेको उनी बताउँछिन्। कोरोनाको प्रभावका कारण मानिसको संख्या कम भएको उनको बुझाइ छ।

अनिषाले आफ्नी दिवंगत हजुरआमाको सम्झनामा समेत एउटा पेन्टिङ 'डेडिकेट' गरेकी छिन्। हजुरआमालाई कानमा फूल हाल्न निकै मन पर्थ्यो। त्यसैलाई नै सम्झिँदै उनले हजुरआमाको शिर र कानमा फूल राखेर पेन्टिङ बनाएकी छिन्।

प्रदर्शनमा आउनेहरुले पेन्टिङमा उठाएका मुद्दाहरु निकै बलियो रहेको टिप्पणी गरेको उनले बताइन्। आउने दिनहरुमा पनि महिलासम्बन्धि पेन्टिङलाई प्राथमिकता दिने उनी बताउँछिन्।  

'थिकं पिंक' को सोलो आर्ट प्रदर्शनी ९ मार्चदेखि ३० मार्च सम्म संचालन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell