PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पद र प्रतिष्ठालाई लात, रातारातै गुट 'चेन्ज' : सांसदलाई सत्ता र शक्तिको मोह



पी बी खड्का

पद र प्रतिष्ठालाई लात, रातारातै गुट 'चेन्ज' : सांसदलाई सत्ता र शक्तिको मोह

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएदेखि तत्कालीन नेकपाभित्रै सांसद तानातानको खेल सुरु भयो।
गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सात सांसदले ओली समूहका नेता यामलाल कँडेलको साथ भोलिपल्टै छोडेर सरकारमा रहेको एमालेकै नेपाल समूहका प्रकाश ज्वालालाई साथ दिन पुग्यो। 

तीन मन्त्रीसहित सचेतक दिने गरी आश्वासन पाएपछि नेता कँडेलको साथ छाडेका ती सांसद फेरि पदकै प्रलोभनमा परेर ज्वालाको साथ छोड्न थालिसकेका छन्।

त्यतिबेला नेता ज्वालालाई साथ दिएका सात सांसदमध्ये पदमा खड्का काठमाडौँ पुगेर शीर्ष तहका नेताहरुलाई भेटेरै अहिले कँडेलको पक्षमा उभिएकी छन्।  अविश्वास प्रस्तावपछि ज्वालालाई साथ दिएका सांसद पदम रोकाया पनि कँडेलको पक्षमा उभिएका छन्। 

२० सांसद रहेको एमाले र १३ सांसद रहेको माओवादी केन्द्रमा सांसद तानातानको रस्साकस्सी चलिरहेकै छ।

एमालेभित्र पनि पछिल्लो समय ओली पक्ष र नेता नेपाल पक्षसँगै माओवादी केन्द्रका सांसद पार्टीभित्र र मन्त्री पद पाउने प्रलोभनमा परेर दौडधुप गरेकागर्‍यै छन्। 

संसदीय दलको नेता समेत रहेका नेता कँडेलको नेतृत्वमा सरकार गठन हुने विश्वासका साथ सांसद खड्का उनलाई साथ दिन पुगेकी हुन्। त्यत्तिमात्रै होइन, मन्त्री पदकै प्रलोभनमा सांसद खड्का अहिले कँडेल पक्षमा उभिएकी हुन्। यद्यपि, उनी पार्टी एकताका लागि संस्थापन पक्षमा उभिएको दावी गर्छिन्। 

‘पार्टीभित्र गुट उपगुट भन्ने होइन, अहिले म पार्टीको एकताको पक्षमा उभिएको हो,’ उनले भनिन्। 

यसअघि अविश्वास प्रस्तावको नेतृत्व गरेका नेता कँडेल एमालेकै सांसदहरुले साथ नदिँदा असफल बनेका थिए। 

मुख्यमन्त्री बन्ने धङ्धङीले नछोडेपछि कँडेल यसपटक भने भर्खर गुट फेरेर आफ्नो पक्षमा उभिएका दुई सांसदलाई बचन प्रतिवद्धता गराएरै अघि बढेका हुन्। यद्यपि, एक जना सांसद सरकारलाई दिएको समर्थन फिर्ताबाट पछि हटे कँडेल फेरि अल्पमतमा रहन्छन्। अर्थात्, बहुमत सदस्य संख्या पुग्दैन उनको पक्षमा। 

‘यसअघिका गतिविधि हेर्दा त भन्न त सकिँदैन, तथापि साथीहरुको स्पस्ट धारणा लिएरै दलको बैठकले निर्णय गरेको हो,’ नेता कँडेलले भने, ‘दश जनाकै हस्ताक्षरसहित स्वयम् उपस्थित गराएर संसद सचिवालय र प्रदेश प्रमुखलाई सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराइएको छ।’

नेता कँडेलको अगुवाईमा ल्याएको अविश्वास प्रस्तावमा माओवादी केन्द्रकै दुई सहित १८ सांसदले हस्ताक्षर गरेका थिए। तीमध्ये नेपाल समूहका सात सांसद फिर्ता भएका थिए । 

नेता कँडेलले कर्णालीमा ओली खेमाको नेतृत्व गरिरहेका छन् भने, नेता ज्वालाले नेपाल खेमाको। 

तत्कालीन अवस्थामा नेता कँडेल पक्षमा १२ र नेता ज्वालाको पक्षमा ८ सांसद थिए। तर, अविश्वासको प्रस्तावपछि ज्वालाको पक्षमा ११ जना उभिए भने कँडेल पक्षमा नौँ जना।

त्यसो त कँडेल पक्षका दुई बहालवाला मन्त्रीलाई थामथुम पारेर ज्वालाले आफ्नो पक्षमा ल्याएका छन्। पछिल्लो समय कँडेलको पक्षमा सभामुख बाहेक १० छन् भने, ज्वालाको पक्षमा नौ जना सांसद छन्। यद्यपि, नेता कँडेल र ज्वालाबिच सांसद तानातान भने जारी छ। 

‘हामीले त्यस्तो तानातान गरेका छैनौँ, विधि र पद्धती के हो भन्ने कुरा उहाँहरुले (सांसद) बुझ्नुहुन्छ,’ नेता प्रकाश ज्वालाले भने, ‘कुनै पद प्रलोभनमा पारेका छैनौँ, अहिले सरकारलाई दिएको समर्थन कायमै रहेको भनेर नौ जना सांसद छौँ, अझै थपिनुहुन्छ।’

यता, माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद ओली खेमामा पुगेकामध्ये ठम्मर विष्ट आफ्नै पार्टीमा फिर्ता भइसकेका छन्। अर्का सांसद धर्मराज रेग्मी ओली खेमामा पुगेर पार्टीको पद समेत हत्याइसकेका छन्। उनले अहिले ओली खेमाको कर्णाली प्रदेश सचिवमा नियुक्ति पाएका छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) माओवादी केन्द्रबाट निर्वाचित रेग्मीले पार्टी परित्याग गरी एमालेमा लागेको भन्दै माओवादी केन्द्रको संसदीय दलले  कारवाहीको प्रक्रिया अघि बढाएको छ। 

दलले डाकेको बैठकमा उपस्थित नबनेको र अर्को दलको केन्द्रीय सदस्य तथा प्रदेश समितिको पद स्वीकार गरेको भन्दै आवश्यक कारवाहीका लागि प्रदेश पार्टीमार्फत् केन्द्रमा सिफारिस गरेको प्रमुख सचेतक सीता कुमारी नेपालीले जानकारी दिइन् ।  

‘दलको बैठकमा उपस्थित पनि नहुने, अर्का पार्टीको जिम्मेवारी पनि लिने भन्ने हुँदैन, संविधानमा भएको व्यवस्था अनुसार नै विधि र प्रक्रिया अनुसार कारवाही हुन्छ,’ उनले भनिन्। 

समीकरण हेरफेरका नाममा सांसद पदको मोलमोलाइ नै भइरहेको छ। 

पाँच वर्षका लागि जनताको मत लिएका सांसद मतदाताको म्याण्डेड पालनाभन्दा पनि सत्ता र शक्तिमा पुग्न रातारात पार्टी र समीकरण फेरिरहेका छन्। यतिसम्म कि पद र प्रतिष्ठाको कुनै ख्यालै गरेका छैनन्। 

‘जनताले पाँच वर्षका लागि मत दिएर निर्वाचित गराएका छन् ,’ राजनीतिक विश्लेषक हरिप्रसाद पौडेलले भने, ‘पाएको म्याण्डेड अनुसार भन्दा पनि सत्ता र शक्तिमा पुग्नकै लागि हो भनेर प्रस्ट छ। सांसद पद र प्रतिष्ठाको कुनै हेक्का नराखेर आफु अनुकूल रातारात पार्टी र गुट फेरेकै छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell