PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाइरहँदा कसको सेवा गर्न सरकार मौन बस्यो? : दीलेन्द्र बडू



पहिलोपोस्ट

भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाइरहँदा कसको सेवा गर्न सरकार मौन बस्यो? : दीलेन्द्र बडू

काठमाडौं : नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण कार्यमा रोक लगाउन सरकारसँग माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारीले सरकारको आदेश कुरिरहेको, आफ्नै लेभलमा कुरा गर्न भारतीय अधिकारीले सुनुवाइ नगरेको भन्दै तत्काल गृह मन्त्रालयले निर्देशन दिनुपर्ने माग गरे। कांग्रेसको छायाँ सरकारका गृहमन्त्री समेत रहेका बडूले तटबन्ध निर्माणमा सरकारकै मौन स्वीकृत रहेको आरोप लगाए।

‘दार्चुलामा महाकाली नदीमा पर्ने हाम्रो जमिन समेत आफूभित्र समेटेर भारतले तटबन्ध बनाइरहेको छ। सीडीओले एसडीएम, डीएमसँग पत्राचार गर्‍यो तर सुनुवाइ भएन। गृह मन्त्रालयमा पटक पटक ताकेता गर्दा पनि नेपाल सरकार सुतिरहेको छ। बेखबर छ। मौन सहमति गरिरहेको छ निर्माणमा,’ उनले भने।

महाकालीको बाढीले विगतमा १०४७ रोपनी जग्गा बगाएर बगर भारततिर परेको बताउँदै बडूले यो कुरा भारततिरको जनतालाई पनि जानकारी भएको बताए। ३५ हेक्टर नेपाली जमिन बगरमा भारतले तटबन्ध बनाइरहेको भन्दै उनले त्यसलाई रोक्नुपर्ने माग गरे।

‘हामीले तटबन्धन बनाउँदा संयुक्त बैठक गरेर गर्‍यौं। धार परिवर्तन गरेर उता परेको जमिनलाई छुन पाइँदैन। अन्तर्राष्ट्रिय कानुन, फिक्स पिल्लर बाउण्ड्री अनुसार पुरानो प्राकृतिक धार लागू हुन्छ। कुनै संरचना बनाउँदा दुई देशको सहमतिमा हुनुपर्छ,’ उनले भने।

सांसद बडूले तटबन्ध नरोकिए २/३ वर्षभित्र नेपालतिरका दार्चुलाका विभिन्न तटीय गाउँ सखाप पार्ने खतरा रहेको चेतावनी पनि दिए। घना बस्ती भएका र ऊर्बर जमिन बगाएर लैजाने उनको चेतावनी थियो।

दार्चुलाबाट गणेश सिंह ठगुन्ना मन्त्री हुनु खुसीको कुरा भए पनि उनी नबोल्नु, उनको क्याविनेटले नै कुनै सुनुवाइ नगर्नु दु:खद् भएको बढूको भनाइ थियो।

‘किन सरकार मौन छ? परराष्ट्रको प्रवक्ताले कुनै जानकारी छैन भनिरहेका छन्। यो के हो? कसको सेवा हुँदैछ? कसका लागि हुँदैछ? तत्काल यो निर्माण कार्य रोक्नुपर्छ,’ उनले भने।

पुसदेखि भएको काम भोलिदेखि नै रोकिनुपर्ने उनको माग छ। कर्मचारीको टोलीले स्थलगत अध्ययन गरेर निर्माण रोक्नुपर्ने प्रतिवदेन दिए पनि नसुनिएको गुनासो गरे। ‘दुई देशको बैठक बसोस्। तत्काल सच्याइयोस्,’ उनले भने।

बडूले तटबन्ध निर्माणमा के भएको हो भनेर सरकारसँग जवाफ पनि मागे। अर्को बैठकमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell