PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विभिन्न कसूरमा पक्राउ परेका १३६ विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ



रासस

विभिन्न कसूरमा पक्राउ परेका १३६ विदेशी निष्कासित, सबैभन्दा धेरै चिनियाँ

काठमाडौं : पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका १३६ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। अध्यागमन विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो।

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए। उनका अनुसार कारबाहीस्वरुप निष्कासित हुनेमा ओभर स्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागू औषधलगायत कसूरका धेरै रहेका छन्।

विभागको तथ्याङ्कअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन्।

निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले जानकारी दिए।

विभागको तथ्याङ्कअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ। आठ महिनाको अवधिमा २० हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ। जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो।

आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ। यस्तै ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनालाई आश्रित भिसा जारी गरिएको छ। विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रु ४२ करोड २६ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell